• Friday 16th of October 2026

फागुनमा फेरि घट्यो बैंकहरूका निक्षेपको ब्याजदर, अब अधिकतम ८.५ प्रतिशत


  • धनकुटा खबर
  • .

वाणिज्य बैंकहरूले फागुन महिनाको लागि ब्याजदर थप घटाएका छन्।
बैंकमा निक्षेप बढ्ने तर कर्जा अपेक्षित रूपमा बढ्न नसकेपछि लगानीयोग्य पुँजी बढ्दै गएको छ।

लगानीयोग्य रकम बढ्दै गएको अवस्थामा प्रत्येक महिना बैंकहरूले ब्याजदर घटाउन थालेका छन्। फागुन महिनाका लागि पनि अधिकांश बैंकले निक्षेपको ब्याजदर घटाएको सूचना निकालेका छन्।

माघ महिनामा बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम नौं प्रतिशत ब्याजदर दिएका थिए। फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.५ प्रतिशत छ।

माघको तुलनामा फागुनमा औसत ब्याजदर ०.४ प्रतिशत बिन्दुले घटेको हो।

व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा बैंकहरूले ०.०६ प्रतिशतदेखि न्यूनतम ०.८१ प्रतिशतसम्म ब्याजदर घटाएका छन्।

फागुनको लागि लक्ष्मी सनराइज, माछापुच्छ्रे, हिमालयन र एभरेष्ट बैंकले माघ कै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन्।
लक्ष्मी सनराइज, माछापुच्छ्रे, र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८ प्रतिशत यथावत राखेका छन्।

हिमालयन बैंकको भने माघ र फागुन दुवै महिना व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.१५ प्रतिशत कायम राखेको छ।
फागुनमा कृषि विकास बैंकले सबैभन्दा कम ब्याजदर प्रस्ताव गरेको छ। यो बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.४४ प्रतिशत ब्याजदर दिने भएको छ।

राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ७.३५ प्रतिशत छ।

प्राइम कमर्सियल बैंकको ७.४ प्रतिशत, नेपाल बैंकको ७.२५ प्रतिशत, सानिमा बैंकको ७.५१ प्रतिशत, प्रभु बैंकको ७ प्रतिशत छ।
नेपाल इन्भेस्टमेन्ट बैंकको अधिकतम ८ प्रतिशत, एनएमबी बैंकको ८.५ प्रतिशत,ग्लोबल आइएमइ बैंकको ७.६ प्रतिशत र नबिल बैंकको ७.७६ प्रतिशत ब्याजदर दिएको छ।

व्यक्तिगत मुद्दती निक्षेपमा नेपाल एसबीआई बैंकले अधिकतम ८.१ प्रतिशत, कुमारी बैंकले ८.०१ प्रतिशत र एनआइसी एशिया बैंकले ८ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ।

केही बैंकलाई पुँजी कोषको कारण अहिले पनि तरलतामा दबाब छ। यही कारण त्यस्ता बैंकले ब्याजदर माघ र फागुनको लागि यथावत राखेका छन्।

राष्ट्र बैंकले समेत बैंकहरूले हरेक महिना मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतले मात्रै परिवर्तन गर्न सक्ने व्यवस्था गरिदिएको छ। यो नीतिमा राष्ट्र बैंक लचिलो नहुने संकेत दिदै आएको छ।

हाल बैंकहरूमा अझै ५ खर्ब हाराहारी अधिक तरलता छ। पछिल्लो समय लगानीकर्ताहरूको आत्मविश्वास घटेको, उपभोग नबढेको कारण बजार मागमा कमी आएको छ। यसले गर्दा बैंकमा कर्जा माग पनि घटेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖