• Friday 16th of October 2026

सरस्वती पूजामा गैरकानूनी गतिविधि गर्नेलाई कारबाही गर्ने


  • धनकुटा खबर
  • .

जनकपुरधाम । सरस्वती पूजाको दिन गैरकानूनी गतिविधि गर्नेलाई कानून बमोजिम कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय धनुषाले चेतावनी दिएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले आज सूचना जारी गरेर यस्तो चेतावनी दिएका हुन् । सरस्वती पूजाको दिन अवाञ्छित, अनैतिक, सामाजिक विकृती हुने खालका गैरकानुनी गतिविधि गरेको पाइएमा कारबाही गर्ने सूचनामा उल्लेख छ ‌।

यसवर्ष फाल्गुन २ गते सरस्वती पूजा परेको छ ‌। विभिन्न शैक्षिक संस्था, सरस्वती मन्दिर लगायत अन्य स्थानहरुमा सरस्वती पूजा मनाउने र मूर्ति विसर्जन गर्ने क्रममा चर्को स्वरमा डिजे बाजा बजाई अश्लिल गीतमा नाच्ने, लागुऔषध तथा मादक पदार्थको सेवन गरी होहल्ला गर्ने, बाटोमा हिड्ने बालवालिकाहरुलाई जिस्काउने, एक आपसमा झैझगडा गर्ने, जबर्जस्ती रंगरअविर दल्ने, पूजाका लागि भनी चन्दा उठाउने जस्ता गतिविधिहरु नगर्नु नगराउनु अनुरोध गरिएको छ ।

सरस्वती पूजालाई सभ्य बनाउन जनकपुरधामका विद्यालयहरुले विद्यालयकै पोशाक लगाएर आउन विद्यार्थीहरुलाई निर्देशन दिएको छ ।

यसवर्ष सरस्वती पूजाकै दिन ‘भ्यालेन्टाइन डे’पनि परेको छ । जनकपुरधाम हिन्दुधर्मावलम्वीहरुका लागि आस्थाको केन्द्र हो । तर केहि वर्षयता ‘भ्यालेन्टाइन डे’ विकृतिको रुपमा देखा परेको भन्दै हिन्दुवादीले ‘भ्यालेन्टाइन डे’ मनाउनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖