नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय मोर्चा ब्युँत्याउने घोषणा गरेका छन् ।
पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीमा साविकका पहिचानवादी, जातीय र जनवर्गीयसहितका मोर्चा ब्युँत्याउने बताएका हुन् ।
माओवादीमा पहिले विभिन्न जातजातिका मोर्चा अस्तित्वमा हुँदा पार्टीको आलोचना भएको थियो । तर फेरि प्रचण्डले यस्ता मोर्चा ब्युँत्याउने बताएका हुन् ।
उनले भद्रगोल र विवादित भएको भन्दै वाईसीएल र पार्टीको विद्यार्थी संगठन विघटन गरेर नयाँ बनाउने पनि बताएका छन् ।
मंगलवारदेखि तीन दिनसम्म चल्ने विधान सम्मेलनबाट प्रगतिशील र समाजवादी विधान बनाउने बताए । साथै, विशेष महाधिवेशन गर्ने तयारी भइरहेको पनि उनले बताए ।
प्रचण्डले पार्टीले अब तीन वटा अभियान सञ्चालन गर्ने जानकारी दिए । ‘नागरिकता विधेयक, मिटरब्याज पीडितविरुद्ध बनेको कानूनसहित सुशासनका कामलाई लिएर तराई मधेश अभियान सञ्चालन गर्ने बताउनुभयो’, माओवादी केन्द्रीय सदस्य रामकुमार शर्माले भने, ‘हिमाल, पहाड र तराई जोड्ने गरी उत्तर दक्षिण अभियान र उपत्यकासहित देशका प्रमुख शहर केन्द्रित अभियान सञ्चालन गरिने पनि बताउनुभएको छ ।’सरकारले लोकप्रिय बजेट ल्याउने तयारी गरिरहेको पनि उनको भनाइ थियो ।
