• Friday 16th of October 2026

कांग्रेसले पटक–पटक धोका दियो


  • धनकुटा खबर
  • .

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा कांग्रेसको भूमिकालाई लिएर असन्तुष्टि सार्वजनिक गरेका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रदेशगत रिपोर्टिङका क्रममा उठेका प्रश्नको सोमबार जवाफ दिँदै उनले माओवादीलाई कांग्रेसले पटक–पटक धोका दिएको बताएका हुन् ।

पछिल्लोपटक राष्ट्रिय सभा निर्वाचनमा कोशीमा गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी नेतृ चम्पा कार्की कांग्रेस मतदाताको भोट क्रसिङका कारण पराजित भएकी थिइन् । सोही प्रदेशमा गठबन्धनबाटै माओवादी मतका कारण कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौला भने विजयी भएका थिए । उक्त नतिजा र पार्टीपंक्तिबाट उठेका प्रश्नसमेतलाई संश्लेषण गर्दै प्रचण्डले कांग्रेससँगको गठबन्धन पार्टीका लागि फाइदाजनक नदेखिएको बताएका हुन् ।

‘राष्ट्रिय सभाको निर्वाचनमा १९ मध्ये हामीले ६ सिट पाएकामा ५ सिटमा मात्रै जित्यौँ । कोशीका कमरेडहरूले कांग्रेससँगको गठबन्धनले हामीलाई राजनीतिक फाइदा छैन भन्ने निष्कर्ष निकाल्नुहुन्छ । त्यस्तो देखिन्छ पनि । कांग्रेसको बदमासी पटक–पटक देखिएकै छ । अहिलेको प्रधानमन्त्री कांग्रेसले बनाएको पनि होइन । तर, टिआरसी विधेयकसम्म कांग्रेससँग जानुपर्ने हुन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य अजम्बर राई काङमाङले भने । उनले राष्ट्रिय सभा निर्वाचनमा मात्रै नभई प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पनि कांग्रेसले धोका दिएको बताएका छन् ।

केन्द्रीय सदस्य काङमाङले प्रचण्डको भनाइ उद्धृत गर्दै थपे, ‘मधेश, राजधानी र ठूला सहरहरूमा हामी कमजोर छौँ । फेरि पनि मधेशमा विशेष अभियान चलाउने र निर्णायक शक्तिमा बदलिने कुरामा योजना बनाउनुपर्छ । २१औँ शताब्दीमा समाजवादको नेपाली बाटो आठौँ महाधिवेशनले नै तय गरेको छ । सोही आलोकमा विधानलाई अनुकूलन गराउनुपर्छ । गुमेको माओवादीको साख ब्याजसहित फिर्ता ल्याउनुपर्ने हुन्छ । ढल्कँदो उमेर, जीवनको उत्तरार्र्धमा पनि म नवजवान जसरी खटिएको छु । तपाईंहरू पनि खटिनुहुन्छ । अबको निर्वाचनमा हामीले संगठन निर्माण गरेर आफ्नै शक्तिमा निर्वाचन लड्ने स्थिति बनाउनुपर्छ भनेर बैठक टुंग्याउनुभयो ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖