• Friday 16th of October 2026

एमाले धादिङको अध्यक्षमा त्रिपाठी र अधिकारी भिड्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । विवादपछि एक साताअघि रोकिएको नेकपा (एमाले) धादिङको नवौँ जिल्ला अधिवेशनको बन्दसत्र आजबाट सञ्चालन हुने भएको छ । धादिङ सदरमुकाम धादिङबेसीमा ११ बजेपछि बन्दसत्र सुरु हुने नेता धर्मदत्त देवकोटाले जानकारी दिए । उनका अनुसार बन्दसत्र सञ्चालन गर्न नौ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । नौ सदस्यीय अध्यक्ष मण्डलमा देवकोटासहित भानुभक्त ढकाल, रेशम लामा, माधव ढुङ्गेल, कैलाश ढुङ्गेल, नवराज सिलवाल, दावा लामा लगायत रहेका छन् ।

‘बन्द सत्रमा पहिला आर्थिक, राजनीतिक र सांगठानिक प्रतिवेदन पेस गरेर छलफलपछि पारित हुन्छ’, देवकोटाले भने, ‘त्यसपछि निर्वाचन प्रक्रिया सुरु हुन्छ ।’ उनका अनुसार सकभर सहमतिमै नेतृत्व चयनको प्रयास हुने र त्यो सम्भव नभए स्वच्छ प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्ने तयारी छ । जिल्ला अध्यक्षमा मौजुदा अध्यक्ष भूमि त्रिपाठी र नेता डा. रामकुमार अधिकारी आकाङ्क्षी छन् । पार्टी केन्द्रले प्यानल खडा गर्न निषेध गरे पनि त्रिपाठी र अधिकारी दुवैले समूहगत तयारी तीव्र पारेका छन् । निर्वाचन सम्पन्न गर्न विश्व अधिकारीको नेतृत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

एमाले अध्यक्ष ओलीले सहमति नभए स्वच्छ प्रक्रियाबाट नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । ‘सके सहमति गर्नु नभए स्वच्छ तरिकाले प्रतिस्पर्धा गर्नु तर निर्वाचनपछि दायाँबायाँ गरे स्वीकार्य हुँदैन भन्ने अध्यक्षको सन्देश छ, मैले त्यहीँ सन्देश प्रवाह गरेको छु’, अध्यक्ष मण्डलका अध्यक्ष देवकोटाले अध्यक्ष ओलीको निर्देशन उद्धृत गर्दै रातोपाटीसँग भने । माघ १९ बाट सुरु भएको अधिवेशनमा अध्यक्ष मण्डल गठन र प्रतिनिधि छनोटमा विवाद चर्किएपछि बन्दसत्र रोकिएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖