• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

मोरङमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय, ईलाम र पांचथरका दुई जना पक्राउ


  • धनकुटा खबर
  • .

मोरङमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ।
मंगलबार बिहान विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित एक झाडीभित्र लुकाएर राखेको अवस्थामा शंकास्पद वस्तु फेला पारेको जिल्ला प्रहरी प्रमुख एसपी दिपक पोखरेलले जानकारी दिए।

दुई लिटरको प्रेसर कुकर टेपले बाँधेर राखिएको अवस्थामा फेला परेको थियो। उक्त वस्तु फेला परेपछि प्रहरीले नेपाली सेनाको टोलीलाई बोलाएको थियो।

बम डिस्‍पोजल टोलीले बिहान पौने ११ बजे उक्त वस्तु निष्‍क्रिय पारेको छ।

‘प्रेसर कुकरमा टेपहरू बाँधेको अवस्थामा फेला परेको थियो। सेनाले निष्क्रिय पारेर कति विष्फोटक पदार्थको प्रयोग भएकोबारे अध्ययन गर्न लिएर गएको छ,’ एसपी पोखरेलले भने।

उनका अनुसार केही समयदेखि शैक्षिक संस्थाहरूमा भूमिगत संगठनको नाममा महासचिव महाविरको दस्तखतसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लेखिएको लेटर प्याड प्रयोऊ गरी चन्दा माग गर्ने गरिएको थियो।

चन्दा नदिए ध्वांसात्मक कार्य गर्ने भनेर चेतावनी दिइएको थियो। यसरी धम्की दिएको भन्ने सूचना पाएपछि मोरङ प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

सिसिटिभी फुटेजको आधारमा प्रहरीले अनुसन्धान गर्ने क्रममा शंकास्पद व्यक्तिको पहिचान खुलेको थियो।

त्यसपछि सोमबार दिउँसो प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा इलाम माम्सेबुङ गाउँपालिका वडा नम्बर १ गजुरमुखीका ३८ वर्षीय प्रविण मिश्र र पाँचथर याङवरक गाउँपालिका-१ का ३० वर्षीय विपिन अधिकारी छन्।

उनीहरूलाई प्रहरीले पक्राउ गरी सोधपुछ गर्नेक्रममा शैक्षिक संस्थालाई धम्क्याउन प्रेसर कुकर बम बनाएको भन्ने बयान समेत दिएका थिए। जसपछि प्रहरीले मंगलबार शंकास्पद वस्तु फेला पारेको हो।

प्रहरीले उनीहरूबाट विस्फोटक पादर्थमा प्रयोग हुने डेटोनेटर, सोडा, सहयोगको ठेली, खाली खाम लगायत बरामद गरेको छ। विपिनबाट मुक्तिनाथ प्रकाशन गृहको प्रेस आइडी कार्ड समेत बरामद गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖