• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

मेयर साहको हत्या गर्न सुपारी लिएका भारतीय सुटर तामिलनाडुबाट पक्राउ


  • धनकुटा खबर
  • .

रौतहट, २ फागुन । रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहको हत्या गर्न सुपारी लिएका सुटरलाई भारतको तामिलनाडुबाट पक्राउ गरिएको छ ।

मेयर साहको हत्या गर्न भारतको कुख्यात अपराधी चञ्चल पाण्डेलाई सुपारी दिइएको प्रहरीको अनुसन्धानबाट खुलेपछि सुपारी लिने सुटरलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले पक्राउ गरेको हो ।

बाराको कलैयामा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल रुपेश सर्राफको हत्या काण्डमा पक्राउ परेका भारतीय सुटर सुजित सिंहले दिएको बयानका क्रममा गौरका मेयर साहको हत्या गर्न चञ्चल पाण्डेले सुपारी लिएको प्रहरीलाई बताएका थिए ।

रुपेश सरार्फ हत्याकाण्डमा मनोज गुप्ता, अरुण यादव तथा सुजित सिंह लगायतका कुख्यात अपराधीहरू पहिले नै पक्राउ परिसकेको र हत्याको मुख्य अभियुक्त पाण्डे रहेको अनुसन्धान पछि खुलेको र प्रहरीले पाण्डेको खोजी तदारुकताका साथ गर्न थालिएपछि अपराधी भारतको तामिलनाडुमा लुकेर बसेको एक अनुसन्धान पछि जानकारी आएको थियो ।

रुपेश सरार्फ हत्याकाण्डमा पक्राउ परेका सिंहले मेयर साहको हत्या गर्न ३६ लाख ने.रु.मा ‘डिल’ भएको र चञ्चलले आधा रकम लिइसकेको अनुसन्धानको क्रममा खुलासा भएको थियो ।

रुपेश हत्याकाण्डमा पक्राउ परेका सिंहपछि प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका पाण्डे भारतको तमिलनाडुमा लुकेर बसेको जानकारीपछि नेपाल प्रहरी र तमिलनाडु प्रहरीले संयुक्त अपरेसन थालेर पक्राउ गरेको थियो ।

संयुक्त अपरेसनमा पक्राउ परेका पाण्डेलाई नेपाल ल्याएर थप अनुसन्धान थालिने बताइएको छ ।

गौर नगरपालिकाका मेयर साहको हत्या गराउन पाण्डेलाई कसले र किन रकम उपलब्ध गराएको हो भन्ने खुलिसकेको छैन ।

मेयर साहको हत्याको योजना बनाउने तथा हत्या गर्न रकम डिल गरी १८ लाख रुपैयाँ अपराधीलाई समेत बुझाउने व्यक्ति वा गिरोहमा को-को छन् भने केही दिनमै भन्डाफोर हुने बताइएको छ । यसबारे गौरका मेयर साहले आफू अलिकति पनि विचलित नभएको र प्रहरीले आफ्नो काम गरिरहेको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖