दाङ । दाङको घोराही ३ गोग्लीस्थित घोराही सिमेन्ट उद्योगका म्यानेजर विष्णु घिमिरेको क्वाटरमा नै प्रवेश गरेर हातपातसहित कुटपिट गरेको आरोपमा दाङ प्रहरीले माओवादी नेतासहित तीन जनालाई पक्राउ गरेको छ ।
परिवारसहित सिमेन्ट उद्योग भित्र क्वाटर लिई बसेका घिमिरेमाथि कुटपिट गरेको जाहेरी परेपछि घोराही गोग्लीकै ४५ वर्षीय वसन्त अधिकारी, ३८ वर्षीय यादव अधिकारी र ४० वर्षीय खिमबहादुर डाँगीलाई बिहीबार पक्राउ गरेर मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । वसन्त स्थानीय माओवादी नेता हुन ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी जनक मल्लले अनधिकृत क्षेत्रमा प्रवेश गरेर आपराधिक उपद्रो गरेको कसुरमा तीन जना विरुद्ध अदालतबाट म्याद थप भई घटना बारे अनुसन्धान भइरहेको जानकारी दिए ।
सिमेन्ट उद्योगका महाप्रबन्धक नन्दकिशोर सिंहले उनीहरू विरुद्ध प्रहरीमा जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीको विशेष टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए ।
कुटपिटमा संलग्नहरुले सिमेन्ट उद्योगमा एकलौटी रूपमा कामदार सप्लाई र आफ्ना मात्रै टिप्पर चलाउन पाउनु पर्ने माग राख्दै घिमिरेमाथि कुटपिट गरेको घटना बारे प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको एसपी केसीले बताए ।
डिएसपी मल्लले फौजदारी अभियोग भएकाले दाङ जिल्ला अदालतले तिन जना विरुद्ध घटना बारे थप अनुसन्धान गर्न ५ दिनको समय दिएको र अहिले उनीहरूलाई प्रहरी हिरासतमा राखेर उनीहरूमाथि अनुसन्धान भइरहेको बताए ।
क्वाटरमा परिवारसहित बसेको व्यक्तिमाथि धम्की, डर देखाई दादागिरी शैलीमा हुल हुज्जत गर्नु गैर कानूनी काम भएकाले अनधिकृत क्षेत्रमा प्रवेश गरेमा ६ महिना कैद वा ५ हजार जरिवाना र आपराधिक उपद्रो गरेमा ५ वर्ष कैद वा २० देखि ५० हजार जरिवाना हुने कानूनी व्यवस्था रहेको डिएसपी मल्लले बताए ।
केही दिन अघि जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा सिमेन्ट उद्योग र ती उपद्रो गर्ने व्यक्तिहरू बिच सहमति भए पनि सहमतिको पटक(पटक उलङ्घन गरेकाले कानूनी कारबाही गर्नु परेको प्रहरीको दाबी छ ।
