• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

पत्नीले सम्बन्ध बिच्छेदको फिराद दर्ता गरेपछि गोली प्रहार


  • धनकुटा खबर
  • .

काठमाडौँ । दाङको घोराहीस्थित दामोदर चोकमा ड्युटीमा खटिएकी प्रहरी जवान धनमाया थापालाई उनका श्रीमान् यमबहादुर झाँक्रीले गोली प्रहार गरे । फागुन ३ मा साँझ झाँक्रीले प्रहार गरेको गोली लागेर धनमायाको मृत्यु भएको छ ।

आफूसँग भएको पेस्तोलबाट यमबहादुरले ३ राउन्ड गोली हानेका हुन् । उनले हानेको गोली मृतकको बायाँ कोखामा लागेको छ ।

यमबहादुर प्रहरी सहायक हवलदार हुन् । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा कार्यरत यमबहादुरले आफूले बोक्ने पेस्तोलबाट गोली प्रहार गरेको भेटिएको छ । हत्यामा प्रयोग भएको पेस्तोल प्रहरीले बरामद गरेको छ । उनी कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखको रनरको रूपमा कार्यरत थिए ।

धनमाया सम्बन्ध विच्छेद गर्न चाहन्थिन् । अदालतमा धनमायाले सम्बन्ध बिच्छेद गरिपाऊँ भनेर ‘फिराद पत्र’ दर्ता गरेपछि यमबहादुरले गोली प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । हत्याको कारण ‘पारिवारिक समस्या’ रहेको लुम्बिनीका डीआईजी कुवेर कडायतले बताए । रातोपाटीसँग कुरा गर्दै कडायतले भने– ‘पारिवारिक कारणले यमबहादुरले पत्नीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ, थप अनुसन्धान हुँदैछ ।’

डिभोर्सका लागि फिराद दर्ता गरेपछि सम्पत्तिबारे उनीहरूबिच विवाद भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । सहायक हवल्दारले पेस्तोल बोक्न नपाउने भए पनि उनले कसरी पेस्तोल लिएर दाङ पुगे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जबाट आरोपीले ४ दिन बिदा लिएका थिए ।

पत्नीलाई गोली प्रहार गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले उनलाई लमहीस्थित अर्जुन खोलाबाट पक्राउ गरेको छ । उनीविरुद्ध ज्यानसम्बन्धी कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖