• Saturday 17th of October 2026

त्रिभुवन विमानस्थल ५ दिन बन्द हुन सक्ने!


  • धनकुटा खबर
  • .

काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चारदेखि पाँचदिन बन्द हुन सक्ने बताइएको छ।

‘ट्याक्सी वे’लाई धावनमार्ग(रनवे) सम्म जोड्ने कामका लागि विमानस्थल चारदेखि पाँचदिन बन्द हुन सक्ने नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख इन्जिनियर दिपेन्द्र श्रेष्ठले बताएका हुन् । धावनमार्गको उत्तरतर्फ एप्रोन (पार्किङ), ह्यांगर (मर्मत केन्द्र) का साथै समानान्तर ट्याक्सी-वे (विमान गुड्ने बाटो) बनिरहेको छ। त्यस्तै दक्षिणतर्फ पनि ट्याक्सी-वे निर्माणको काम भइरहेको नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले जनाएको छ।

रन-वे र ट्याक्सी-वे बीचको कनेक्सन जडानको काम गर्दागर्दै विमानस्थल आंशिक तथा पूर्ण रूपमा बन्द गर्नुपर्ने अवस्था आउन सक्ने आयोजनाका प्रमुख इन्जिनियर दिपेन्द्र श्रेष्ठले बताए। यसका लागि अहिलेदेखि नै सूचना दिइएको उनले बताए।

‘रनवेबाट ७५ मिटर दायाँबायाँ दूरीमा चार मिटर गहिरो खाल्डो खनेर पुर्नु धेरै संवेदनशील काम पनि हो,’ श्रेष्ठले भने, ‘कालो माटो र पानी निस्कियो अथवा केही समस्या देखियो भने अहिलेको समयले पुग्दैन। थप समय लाग्ने देखिएमा रनवे नै बन्द गरेर काम गर्नुपर्ने हुन्छ।’

न्यूनतम ८ देखि १० घण्टा समय लाग्ने भएपनि प्रतिकूल अवस्थामा भने लामो सयम नै विमानस्थल बन्द हुन सक्ने उनकाे भनाइ छ। तर सकेसम्म कमभन्दा कम समय विमानस्थल बन्द गरेर काम गर्ने विषयमा अध्ययन भइरहेको छ।

उनका अनुसार त्यस्तो परिस्थिति आएमा विमानस्थलसँग जोडिएका वायुसेवाहरूलाई सूचना दिएर बन्द गरिनेछ। रनवेसम्म ट्याक्सी वे पुर्‍याउनका लागि भने अझै ३/४ महिना लाग्छ। उनका अनुसार सन् २०२४ को नोभेम्बर तथा २०२५ को जनवरीमा उक्त काम हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖