• Saturday 17th of October 2026

कांग्रेसमा चर्कियो हिन्दूराष्ट्रको बहस, नेता भण्डारीको नेतृत्वमा महाअभियानको घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा भएको छ।

काठमाडौंको थापागाउँ स्थित बानेश्वर बैंक्वेटमा आयोजित कार्यक्रममा महाअभियानको औपचारिक रूपमा घोषणा भएको नेता भण्डारीले बताएका हुन्।

उनले हिन्दूराष्ट्र नेपालको महाअभियानमा साथ दिनका लागि पार्टीका नेता, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिसहित सम्पूर्ण कार्यकर्ता र शुभेच्छुकहरूमा आग्रह गरे।

अभियानको महासचिवमा कांग्रेसका केन्द्रीय सदस्य, प्रदेशसभा सदस्य एवम् विराटनगर नगरपालिकाको पूर्वप्रमुख भीम पराजुली र केन्द्रीय सदस्य एवम् सांसद मुक्ताकुमारी यादव रहेका छन्।

कांग्रेसपछि पछिल्लो समय हिन्दूराष्ट्रलाई एजेण्डा बनाउनुपर्ने दबाब बढ्दै गइरहेको छ। शुक्रवारको केन्द्रीय समितिको बैठकमा पार्टी सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा उभिनुपर्ने भन्दै २२ जना केन्द्रीय सदस्यले हस्ताक्षर संकलन गरेर बुझाएका थिए।

सोमबारदेखि सुरू हुने महासमितिको बैठकमा पनि भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्रको एजेण्डा उठाउने तयारी छ। अघिल्लो महासमितिको बैठकमा पनि भण्डारीसहित महासमिति सदस्यहरूले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर अभियान नै चलाएका थिए।

९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दूधर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिएको विषयप्रति उनीहरूको असहमति छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖