काठमाडौँ । रुकुम (पूर्व) जिल्लामा पर्ने पुथाउत्तरगङ्गा गाउँपालिका–३ मा २०७९ चैत २२ गते ८ वर्षीय कालिमाया बुढामगर र १० वर्षीय रिणा बुढामगरेको विभत्स हत्या भयो । कालिमाया र रिणाको हत्या अभियोगमा १३ वर्षीय सुस्मिता बुढामगर र ११ वर्षीय आकांक्षा बुढामगरलाई नियन्त्रणमा लिइयो ।
तत्कालीन अवस्थामा उनीहरुले घट्ना स्वीकार गरे । उनीहरुले घटना स्वीकार गरेकै आधारमा दोषी करार गरियो । सुस्मिता र आकांक्षालाई ६ महिनाको लागि सुधार गृहमा पठाइयो । तत्कालीन अवस्थामा सुस्मिता र आकांक्षाबाहेक उक्त घटनामा संलग्न कोही हुनसक्छ भन्नेबारे कसैले पनि ख्यालै गरेनन् ।
सुस्मिता र आकांक्षालाई कसैले पनि सहयोग गरेनन् । सुस्मिता र आकांक्षा आफूहरुले दवाबमा उक्त घटना स्वीकार गरेको बताउँछन् । तर, कालिमाया र रिणाको हत्यारा कर्मटेक बुढामगर, विक्रम बुढामगर र दयालु बुढामगर भएको उनीहरुको दाबी छ । सुस्मिता र आकांक्षालाई सुधार गृह पठाइसकेपछि केही समयमा उनीहरुले आफूहरुले उक्त घटना नघटाएको, कर्मटेक, विक्रम र दयालुको डर र दवाबमा आफूहरुले उक्त घटना स्वीकार गरेको र प्रहरीले पनि जबर्जस्ती साबिती बयान गराएको भन्दै उनीहरुले घरमा पत्र पठाए ।
अहिले उनीहरु सुधारगृहबाट मुक्त भइसकेका छन् । तर, आफूहरुले नगरेको हत्या अभियोग लागेकोमा उनीहरु दुःखी छन् ।
शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सुस्मिताले आफू र आकांक्षा उक्त घटनाको अभियुक्त नभएको बताइन् । गाउँघरमा मेलबाट फर्कने क्रममा कालिमाया र रिणालाई हत्या गरेर बोकेर आउँदै गरेको अवस्थामा भेटेको सुस्मिताले बताइन् ।
‘मल बोकेर फर्कने क्रममा कर्मटेक, विक्रम, दयालुले काली र रिणालाई मारेर ल्याउँदै थिए । हामी दुई जनासँग भेट भयो । तिनीहरुले काली र रिणालाई फालेर हामीलाई समात्न थाले । यिनीहरुलाई मारेको कसैले पनि देखेका छैनन् । अब तिमी दुई जनालाई मानुपर्छ भन्यो । हामीलाई नमार्नु तपाईँहरुले काली र रिणालाई मारेको कसैलाई पनि भन्दैनौं भन्यौं । पुलिसहरु र गाउँलेहरुले थाहा पाएपछि काली र रिणा हामीले मारेका भन भनेर भन्यो । हामीले मारेको भन्दैनौं भनेको । तिमी दुई जनाको घर परिवारलाई पनि मार्छौं र तिमीलाई पनि मार्छौं भन्यो । हामीलाई लाश छाम्न पठाए । मेरो साथीलाई र मलाई पनि सलले घाँटीमा बेर्यो । हामीले नै मारेको भन्छौं भन्यौं,’– सुस्मिताले भनिन् ।
लाशलाई विक्रम र कर्मटेकले सुस्मिता र आकांक्षाको डोकामा बोकेर फाल्न गएको र दयालुले आफूहरुलाई समाएर त्यही राखेको सुस्मिताको भनाइ छ । पुलिसलाई हामीले मारेको होइन अरुले मारेको हो भन्दा पिट्छन् भनी डराएर हत्या स्वीकार गरेको उनले बताइन् ।
आकांक्षाले काली रिणाालाई कर्मटेक, विक्रम र दयालुले मारेको बताइन् । आफूहरु मल बोकेर फर्किदै गर्दा बाटोमा उनीहरुसँग जम्काभेट भएको र आफूहरुलाई पनि मार्ने भएपछि हत्या अभियोग स्वीकार गरेको उनको भनाइ छ ।
‘म चैत्र २२ गते मल बोक्न गएको थिएँ । हामी मल बोक्दै थियौं । ममीहरु घर फर्किनुभयो । सुस्मिता र म घर फर्किने क्रममा दयालु, कर्मटेक, विक्रमहरुले काली, रिणालाई मारेर ल्याउँदै थिए । एक्कासी बाटोमा भेट भयो । तिनीहरुले काली र रिणालाई भूँइमा फालेर हामी दुई जनालाई समाते । हामीलाई मार्ने भन्नुभयो । हामीलाई नमार जे भने पनि गर्छौ भन्यौं,’– आकांक्षाले भनिन् ।
त्यस्तै, काली र रिणाका बाबु तारामान बुढाले आफूले न्याय नपाएको बताए । निर्दोषलाई फसाएर वास्तविक दोषीहरुलाई उन्मुक्ति दिइएको उनको भनाइ छ । उनले आफूले सुस्मिता र आकांक्षाले उक्त कुरा बाहिर ल्याएपछि प्रहरीमा पुनः जाहेरी दिन गएपनि जाहेरी समेत अस्वीकार भएको बताए । साथै, आफू उच्च अदालत तुलसीपुरमा पुनरावेदन जाँदा समेत पुनरावेदन दर्ता नभएको उनको भनाइ छ । सुस्मिता र आकांक्षाले नाम लिएका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर उक्त घटनाको सुरु देखिनै छानबिन हुनुपर्ने उनको माग छ ।
