काठमाडौं, फागुन ७ । बैंकिङ क्षेत्रका चार वटै संगठनले समाजमा गलत सूचना फैलाउने र समाजलाई भडकाउने कार्यमा लाग्नेलाई कारबाही गर्न माग गरेका छन् ।
आइतबार बैंकर्स संघ, नेपाल वित्तीय संस्था, डेभलपमेन्ट बैंकर्स एशोसिएसन र नेपाल लघुवित्त बैंकर्स संघले विज्ञप्ति जारी गरेर बैंक विरुद्ध समाज भडकाउनेलाई कारबाही गर्न बैंकिङ क्षेत्रका चार वटै संगठनले माग गरेका छन् ।
‘आमसर्वसाधारणहरुलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तीजनक अभिव्यक्ति दिनेहरुलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत सरकारी निकायलाई आग्रह गर्दछौ’ जारी विज्ञप्तिमा भनिएको छ ।
पछिल्लो समय सामाजिक संजालहरुमा बैंकिङ क्षेत्रका बारेमा देखिने आधारहीन, गलत तथा भ्रामक टिप्पणीमा ध्यान नदिन बैंकसंघहरुले आग्रह गरेका छन् । जारी संयुक्त विज्ञप्तिमा सम्बन्धित सरोकार निकायहरुले सम्प्रेषण गरेको सूचना÷समाचारहरुलाई मात्र आधिकारिक रुपमा लिन सबैमा अनुरोध गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुमा ५ करोड ३५ लाखभन्दा धेरै निक्षेप खाताहरु र १८ लाख भन्दा धेरै कर्जा खाताहरु संचालनमा रहेको जनाएका छन् । देशका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरुले मुलुकको कुल ग्राहस्थ उत्पादनभन्दा धेरै निक्षेप संकलन तथा लगभग कुल ग्राहस्थ उत्पादन बराबरको कर्जा प्रवाह तथा अन्य बैंकिङ्ग सेवाहरु आफ्ना ६४४१ शाखाहरु मार्फत देशभर प्रदान गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।
