• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर बलात्कार


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रहरीले बलात्कार आरोपमा दैलेखका २९ वर्षीय लोकेन्द्रकुमार तिरुवालाई पक्राउ गरेको छ ।

एक युवतीलाई प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर बलात्कार गरेको उजुरी परेपछि प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

प्रहरी वृत्त, जनसेवामा दर्ता भएको जाहेरी अनुसार, जाजरकोट घर भएकी पीडितसँग उनको एक महिनाअघि फेसबुकमार्फत चिनजान भएको थियो । त्यसक्रममा युवतीले आफूले प्रहरीमा जागिर खाने तयारी गरिरहेको बताएकी थिइन् ।

‘पछि उनले मलाई बारम्बार फोन सम्पर्क गरेर मेरो ठूला ठूलासँग चिनजान छ, तपाईंलाई प्रहरीमा जागिर लगाइदिन्छु, बसेर कुरा गर्नुपर्छ भनेर बारम्बार बोलाउँदै आएका थिए’, पीडितले भनेकी छन्, ‘जागिरको कुरालाई लिएर पटकपटक यस्ता कुराहरु बताउन थालेपछि म विश्वासमा परेर ७ माघमा अपराह्न साढे ३ बजेतिर भेट्नलाई रत्नपार्कमा आएको थिएँ ।’

अपराह्न ५ः४५ बजेतिर उनले ‘भोक लाग्यो, चिया खान होटलमा जाउँ’ भनेकाले आफू आरोपीसँगै हिँडेको उनले बताएकी छन् । त्यसक्रममा आफूलाई विभिन्न बहाना बनाएर काठमाडौं–११, सुन्धारास्थित सिक्लेस गेष्ट हाउसमा लगेको उनले भनेकी छन् ।

कोठामा लगेर आफूलाई जबरजस्ती करणी गरेको भन्दै उनले जाहेरी दिएकी छन् । आरोपी तिरुवाले भने आफ्नो खुट्टाले उनको खुट्टामा छुनासाथ जाहेरवालाले बाहिर निस्किएर कोठाको चुकुल लगाएको दाबी गरेका छन् ।

‘त्यसपछि मैले ढोका ढक्ढक्याउँदा कसैले खोलेनन्, पछि प्रहरी आएर ढोका खोलेर मलाई लिएर गएको हो’, उनले भनेका छन् ।

प्रहरीले घटना भएका बेला पीडितले फोन गरेको एक जना व्यक्तिसँग पनि बयान कागज गराएको छ । ती व्यक्तिका अनुसार, पीडितले त्यो दिन आफूलाई तिरुवाले बलात्कार गरेको भन्दै रुँदै फोन गरेकी थिइन् ।

‘मैले निजलाई गेष्ट हाउसको कोठामा थुनेर राखेको छु, तत्काल प्रहरीलाई बोलाइदिनुपर्‍यो भन्दै रुँदै फोन गरेको हुँदा मैले १०० मा फोन गर, म आउँछु भनेको थिएँ’, उनले भनेका छन् ।

घटनाबारे अनुसन्धान सकेर प्रहरीले जबर्जस्ती करणीको कसूरमा तिरुवाविरुद्ध सजायको माग गर्दै रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । त्यही प्रतिवेदनका आधारमा जिल्ला अदालत, काठमाडौंमा आइतबार मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖