• Saturday 17th of October 2026

सत्ता गठबन्धन भत्कने सम्भावना छैन: मोहनविक्रम सिंह


  • धनकुटा खबर
  • .

रूपन्देही । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले वर्तमान अवस्थामा गठबन्धन भत्कने कुनै सम्भावना नभएको बताएका छन् ।

उनले पाँच दलीय गठबन्धनले पाँच वर्ष सरकार चलाउने तर नेपालको राष्ट्रियता गम्भीर संकटमा परेको बताएका छन् ।

‘देश अहिले गम्भीर संकटमा छ । गणतन्त्र, धर्मनिरपेक्षतालगायतका उपलब्धिहरु जोखिममा परेका छन्’, उनले भने, ‘प्रतिगमनकारीहरु अराजकता फैलाएर प्राप्त उपलब्धिहरु समाप्त पार्ने दाउमा छन् । त्यो सफल हुने सम्भावना छैन । तर, दलहरु सचेत हुनुपर्छ ।’

प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा नेता सिंहले अमेरिकालगायतका शक्तिशाली देशहरुले राजनीतिक पार्टी नै खोलेर नेपालमा हस्तक्षेप गर्न आइपुगेको बताए ।

विगतमा यहाँका दलका नेताहरुलाई आफ्नो अनुकूल प्रयोग गर्दै आएकोमा अहिले पार्टी नै स्थापना गरेर नेपालमा हस्तक्षेप गर्न लगाएको सिंहले बताए ।

अमेरिकाले आफ्नो स्रोतसाधनको प्रयोग गरेर आफ्नो अनुकूल काम गर्न राजनीतिक दलमा लगानी गरेको उनले दाबी गरे ।

चीनलाई साइजमा राख्न अमेरिकाले नेपालको भूमि प्रयोग गर्न खोजेको सिंहकाे भनाइ छ । ‘अहिले अमेरिकाको मुख्य प्रतिस्पर्धा चीनसँग छ, त्यसले गर्दा पनि उसले चीनलाई साइजमा राख्न नेपालको भूमि प्रयोग गर्न खोजिरहेको छ’, उनी भन्छन्, ‘यहाँको अस्थिरतामा खेलेर नयाँ दलमार्फत त्यो स्वार्थ पूरा गर्ने तयारीमा रहेको देखिन्छ ।’

उनले आफूलाई कम्युनिष्ट बताउने दल नै प्रतिगमनकारी कित्तामा गएको आरोप लगाए । ‘एमालेको साँठगाँठ अहिले प्रतिगामीहरुसँग छ’, महामन्त्री सिंहले भने, ‘विभिन्न घटनामा दोषी र भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले खुट्टा कमाउन हुँदैन ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖