• Saturday 17th of October 2026

गगनलाई देउवाको जवाफ: राजनीतिक गठबन्धन गर्ने-नगर्ने निर्णय अहिले नै गर्नु जरुरी छैन


  • धनकुटा खबर
  • .

काठमाडौं,७ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा चुनावी गठबन्धन गर्ने नगर्ने बारेमा अहिले नै निर्णय गर्न जरुरी नरहेको बताएका छ्न ।

आजबाट सुरु भएको पार्टीको महासमिति बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले पार्टीको सैद्धान्तिक मान्यता र नीतिबाट निर्देशित भएर कांग्रेस अगाडि बढ्ने बताउँदै भविष्यमा हुने चुनावलाई अहिलेनै निर्णय गर्नु जरुरी नरहेको बताएका हुन् ।

सोमबार ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठकमा देउवाले भने, ‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा तत्कलीन परिस्थितिमा निर्भर भएको हुँदा पार्टीले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य, सान्दर्भिकता लगायतका विभिन्न ठोस मूल्यांकन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिनसक्नेछ ।’

कांग्रेसको महासमिति बैठकको सांगठनिक प्रतिवेदन लेखेका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा कुनैपनि दलसँग गठबन्धन नगर्ने निर्णय यही महासमिति बैठकले गर्नुपर्ने बताएका थिए । जसले कांग्रेसमा ठूलो तरंग ल्याईदिएको छ । कांग्रेसका संस्थापन इतर समूहले गगनको प्रस्तावलाई स्वागत गरिरहँदा संस्थापन पक्षले भने विरोध जनाईरहेको छ ।

संस्थापन पक्षको असहमतिबीच महासमिति बैठक उद्घाटन भएको छ । आज उद्घाटन बैठकमा भोलि प्रतिवेदनहरु पेश हुनेछन् । महामन्त्ती थापा र सभापति देउवाबीच मिल्नबाँकी कुराहरु मिलाएर प्रतिवेदनलाई अन्तिम रुप दिने कांग्रेसको तयारी छ ।

कांग्रेसको महासमिति बैठक १० गतेसम्म चल्नेछ । बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेस हुनेछन् । नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले, सांगठनिक प्रतिवेदन महामन्त्री गगन थापाले र समसामयिक राजनीतिक प्रतिवेदन अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने छन् ।

यसैगरी अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन र लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖