• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौं महानगरमा फोहोरबाट कम्पोस्ट मल बनाउन सुरू


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरपालिकाले संकलित कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सुरू गरेको छ ।

महानगरका अनुसार २७ नम्बर वडाबाट संकलन गरिएको करिब १४ टन कुहिने फोहोरलाई टेकु ट्रान्सफर स्टेसनमा कम्पोस्टिङ सुरू गरिएको हो ।

फोहोरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सुरू गरिएको महानगरले बताएको छ ।

घरेलु फोहोर दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने कामको थालनी महानगरले २७ नम्बर वडाबाट सुरू गरिएको थियो । ५ हजार जनसंख्या रहेको २७ नम्बर वडमा १ हजार ४ सय घरधुरी छन् । जहाँबाट निस्कने कुहिने फोहोरको मात्रा दैनिक औसत ५ सय केजी छ ।

वातावरण व्यवस्थापन विभागकी उपनिर्देशक सानुमैयाँ महर्जन भन्छिन्, ‘एक हप्तामा जम्मा भएको फोहोरको एक पाइल बनाउँछौँ । एउटा पाइलमा करिब ३५ सय किलो कुहिने फोहोर हुन्छ । एक भाग कुहिने फोहोरमा एक भाग टोकोजाइ नामक व्याक्टेरिया मिसाउनु पर्छ । यसले फोहोरलाई गन्धरहित बनाउँछ । लिचेड निस्कन दिँदैन ।’ कुहिने फोहोरलाई एक हप्तामा एक पटक पल्टाएर कम्पोस्ट मल तयार गरिने उनले बताइन् ।

महानगरका अनुसार २७ नम्बर वडामा फोहोर वर्गीकरण गरेर २१ माघदेखि टेकु ल्याउन थालिएको थियो । त्यसपछि संकलन भएको फोहोरलाई पाइल गरिएको हो । अहिलेसम्म ४ पाइल तयार भइसकेका छन् । संकलित फोहोरको १५ प्रतिशत मात्रामा जैविक मल उत्पादन हुन्छ ।

‘फोहोरको दिगो व्यवस्थापनका लागि स्रोतमा नै वर्गीकरण गर्ने अभियान थालिएपछि वडाबाट फोहोर उत्पादनको स्वरुपमा परिवर्तन आएको छ,’ विभागका इञ्जिनियर सरकारदीप श्रेष्ठ भन्छन्, ‘फोहोर छुट्याउन थालेपछि कुहिने फोहोरलाई उत्पादक आफैँले मल बनाउन थाल्नु भएको छ । नकुहिने फोहोर बेच्न र पुनः प्रयोग गर्न थाल्नु भएको छ । फोहोर एकै ठाउँमा हुँदा चाहिँ मल बनाउन झन्झट, बिक्री पनि नहुने थियो । अब मल बनाउन पनि मिल्छ । बिक्री गर्न पनि मिल्छ । यसकारण संकलन हुने फोहोरको मात्रा नै घटेको छ ।’

वडा नम्बर २७ ले फोहोर वर्गीकरण र ढुवानीका लागि निरन्तर निगरानी गरिरहेको छ । उत्पादकलाई वर्गीकरणका लागि प्रोत्साहन गर्ने, सचेतना वढाउने र सहभागी गराउने कामलाई निरन्तर सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖