• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सीतापाइला घटना : विवाहेतर सम्बन्धले निम्त्याएको बीभत्स हत्या


  • धनकुटा खबर
  • .

काठमाडौ । चार जनाको ज्यान गएको सीतापाइला घटनाको मूल कारण विवाहेतर सम्बन्ध रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

फागुन ९ गते बिहान पौने ९ बजे सीतापाइलमा ३७ वर्षीय काजी विश्वकर्माले पत्नी प्रेमकुमारी श्रेष्ठ, आठ वर्षकी छोरी अनिसा र दुई वर्ष पाँच महीनाकी नातिनी सिवनाको हत्या गरी आफू समेत नजिकैको जंगलमा गएर झुन्डिएर आत्महत्या गरेका थिए।

प्रहरी स्रोतका अनुसार घटनापछि गेटबाट बाहिर निस्कँदै गर्दा पसलमा सामान किनेर फर्किरहेका १५ वर्षका छोरा अनिससँग जम्काभेट हुँदा काजीले आफूले नराम्रो घटना घटाएको बताएका थिए। छोरा अनिसले त्यसको भिडिओ समेत खिचेका थिए, जुन प्रहरीले प्रमाणका रूपमा संकलन गरेको छ।

“श्रीमतीको विवाहेतर सम्बन्ध रहेकाले आफूले दिक्क भएर हत्या गर्नुपरेको छोरासँग बताएको भिडिओ भेटिएको छ,” ती प्रहरी अधिकृतले भने। 
थुप्रै पटक यो विवाद प्रहरी कार्यालयसम्म पुगेको समेत देखिएको प्रहरीको भनाइ छ। काजीले प्रहरी वृत्त स्वयम्भूमा प्रेमकुमारीलाई अर्को पुरुषले जबर्जस्ती करणी गरेको भन्दै उजुरी समेत दिएको भेटिएको ती प्रहरी अधिकृतले बताए। “तर प्रेमकुमारीले पछि जबर्जस्ती करणी गरेको आरोप लागेकै केटासँग विवाह गर्छु भन्न थालेपछि घरायसी झगडा चरम अवस्थामा पुगेको बुझिएको छ,” ती प्रहरी अधिकृतले भने।

प्रहरीका अनुसार प्रेमकुमारीको काजीसँग दोस्रो विवाह हो। काजीसँग विवाह गर्दा प्रेमकुमारीको अघिल्लो पतिबाट एक छोरा थिए, जो अहिले विदेशमा छन्। विदेशमा भएको छोरोपट्टिकी बुहारी भने बाहिर काममा गएकाले सकुशल छिन्। सामान किन्न पसल गएको छोरासँग भेट भए पनि काजीले उनलाई केही गरेनन्।

“काजीले छोरालाई असाध्य माया गर्ने रहेछ,” अनुसन्धानमा संलग्न ती प्रहरी अधिकृत भन्छन्, “भिडिओमा छोराकै भविष्यका लागि आफूले यस्तो गरेको समेत बताएका छन्।” 
काजी डकर्मीको काम गरेर जीवन निर्वाह गर्दै आएको र प्रेमकुमारी भने गृहिणी थिइन्।-हिमाल खबर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖