काठमाडौँ । राजधानीको सितापाइलामा तीन जनाको हत्यामा संलग्न व्यक्तिले नै घटनाबारे सूचना दिएको पाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एक अनुसन्धान अधिकृतले सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिकले तीन जनाको हत्या गरेको खुलेको बताए।
उनले ३८ वर्षीया श्रीमती ईश्वरी श्रेष्ठ र छोरी ८ वर्षकी अनिशा श्रेष्ठ तथा साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्यापछि आफैँले घटनाबारे ईश्वरीका बुबा र अन्य आफन्तलाई जानकारी गराएका हुन् । अनिशा काजीकी छोरी हुन् भने शिवानी ईश्वरीको यसअघिका श्रीमानबाट जन्मेका छोराको छोरी रहेको प्रहरीको भनाइ छ ।
पारिवारिक कहलका कारण हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीका अनुसार घटनापछि उनले फोन गरेर आफन्तहरुलाई जानकारी गराउँदै आफू पनि मर्न जान लागेको बताएका थिए । त्यसको केही समयमा उनी नागार्जुनको जंगलमा मृत फेला परेका थिए ।
घटनाका बेला घरबाहिर भएका काजी एक छोरा भने सकुसल छन् । उनले हत्याको योजना बनाएर कक्षा ८ मा पढ्ने छोरालाई भने पैसा लिन भन्दै घरबाहिर पठाएको खुलेको अनुसन्धान अधिकृतको भनाइ छ । बालकले प्रहरीलाई दिएको जानकारीअनुसार आफूलाई बुबाले पैसा लिन पठाएको र फर्केर आउँदा हत्या गरेको पाएको बताएका छन् । आफू कोठामा आइपुग्दा बुबाले घटनाबारे बताएको र मर्न जान्छु भनेर गएको उनले प्रहरीलाई बताएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले घटनापछि श्रीमानपनि जंगलमा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।
