काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिका– ६ गोठाटार भैरव टोलमा बुधबार बिहान करिब ८ बजेतिर साइरन बजाउँदै प्रहरीको एउटा टोली पुग्यो। सुरुमा केही प्रहरीहरु मोटरसाइकलमा पुगेका थिए। पछि गाडीमा पनि ठूलो संख्यामा प्रहरी त्यहाँ पुगे। केही प्रहरीहरु घरको भुइँ तलाको कोठामा छिरे। केही बाहिर रहे। प्रहरी कर्मचारीहरुले सञ्चार सेटमा कुरा गर्न थाले– लास भेटिएको छ– एउटा महिला, २ जना बच्चा छन्।
गोठाटार भैरव टोलस्थित बद्री बजगाईंको घर अगाडि हेर्दा हेर्दै मानिसहरुको भिड जम्मा हुन थाल्यो। पत्रकारहरु पनि त्यहाँ पुगे। प्रहरीले पत्रकारलाई घटनास्थलबाटै जानकारी दियो– सोलुखुम्बुको दूधकोशी गाउँपालिका स्थायी घर भएकी ३९ वर्षीया ईश्वरी भनिने प्रेमकुमारी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिसा श्रेष्ठ र २ वर्षीया बालिका सिबना श्रेष्ठको शव भेटिएको छ। प्रारम्भिक अनुसन्धानबाट उनीहरुको हत्या भएको देखिएको छ।
प्रहरीले हत्यामा संलग्न भएको आशंकामा मृत फेला परेकी प्रेमकुमारीका श्रीमान् ५१ वर्षीय राजु घिमिरे भनिने काजी विकको खोजी सुरु गर्यो। केही समयपछि पत्ता लाग्यो उनी पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
प्रहरीले खोजी गर्दा प्रेमकुमारीका श्रीमान् काजी घटनास्थलबाट करिब २ किलोमिटर टाढा, नागार्जुनको जंगलमा मृत फेला परे।
घरधनी बजगाईंका अनुसार राजु घिमिरे भनिने काजी विकको परिवार १ वर्ष अगाडिदेखि उनको घरको भूइँतलामा डेरामा बस्दै आएको थियो। काजीले डकर्मीको काम गर्थे। भाडा पनि उनीहरुले नियमित नै तिर्दै आएका थिए।
‘उनीहरुले कहिल्यै झगडा गरेको पनि सुनेको थिइनँ। आज भने यस्तो घटना भयो। पत्याउनै सकिरहेको छैन,’ बजगाईंले भने।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेअनुसार ३९ वर्षीया प्रेमकुमारीले काजीसँग दोस्रो विवाह गरेकी हुन्। पहिलो विवाहबाट उनका एउटा छोरा छन्। उनी हाल वैदेशिक रोजगारीमा रहेका प्रहरीले जनाएको छ। बुधबार बिहान मृत फेला परेकी २ वर्षीया बालिका सिबना श्रेष्ठ प्रेमकुमारीकी नातिनी हुन्। प्रेमकुमारीकी बुहारी पनि नजिकै कोठा लिएर बस्दै आएकी थिइन्। सिबना मंगलबार साँझ मात्रै हजुरआमासँग बस्न भनेर प्रेमकुमारीको डेरामा पुगेकी थिइन्।
श्रीमतीसहितको हत्या गरेर भाग्न लाग्दा छोरासँग जम्काभेट
प्रेमकुमारी र काजीका पहिलो सन्तान छोरा अनिस हुन्। जो अहिले १५ वर्ष पुगेका छन्। बिहान स्कूल जाने तयारी गरिरहेका अनिसलाई बहिनीले मिठाइ खाने भनेकी थिइन्। त्यसपछि काजीले छोरालाई १०० रुपैयाँ दिएर मिठाइ र तरकारी किन्न भनेर पसल पठाएका थिए।
छोरा अनिस पसल गएका बेला काजीले भने श्रीमती, छोरी र नातिनीको हत्या गरेको प्रहरीले जनाएको छ। ‘१५ वर्षीया छोरालाई सामान किन्न पठाएर काजीले श्रीमती, छोरी र नातिनीको हत्या गरेको देखियो,’ प्रहरी स्रोतले भन्यो।
प्रहरीका अनुसार श्रीमती, छोरी र नातिनीको हत्या गरेर बाहिर निस्किने क्रममा काजी र उनका छोराको जम्काभेट भएको थियो। जम्काभेट हुँदा काजीले छोरालाई ‘मैले नराम्रो घटना घटाएको छु। तिमी पिर नगर्नु। सबै तिम्रो भविष्यका लागि गरेको हुँ’ भनेर भनेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाबु काजीसँग कुराकानी हुँदा छोराले मोबाइलमा भिडिओ खिचेका थिए। जुन भिडिओ प्रहरीले प्रमाणका रुपमा संकलन गरेर सुरक्षित राखेको छ।
