तरहरा : इटहरी २० तरहरामा मध्यरातमा स्कुटर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार बिहीबार (आज) बिहानको राति १ः२० बजेतिर इटहरी २० तरहरास्थित शान्ति टोलको भित्री सडकखण्डमा गुडिरहेको स्कुटर आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा पुरुषको मृत्यु भएको हो ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे १० प ४९२९ नम्बरको स्कुटर आफैं अनियतन्त्रित भएर सडकको साइडमा रहेको स्कुलको भित्तामा ठक्कर हुँदा ३८ वर्षीय तेन्जिङ तामाङ (तितुङ)को मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा धरानिस्थत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा बिहानको राति २ः५० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक तितुङ तरहरास्थित प्याराडाइज बोर्डिङ स्कुलका शिक्षक रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘राति साथीहरूसँग ग्यादरिङ गरेको र त्यसपछि साथीलाई इटहरी पु¥याएर आउने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ एक प्रहरीले टाकुरासँग भने, ‘तीव्र गतिमा चलाएको स्कुटर तीव्र गतिकै कारण अनियन्त्रित भएको देखिन्छ ।’
इटहरीबाट तरहरा फर्कने क्रममा तीव्र गतिमा रहेको स्कुटर स्कुलको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ । प्रहरीले घटनास्थलबाट स्कुटर नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।-टाकुरा न्यूजबाट
