• Saturday 17th of October 2026

माधव नेपालको मुखैमा आएको प्रधानमन्त्री पद खुस्किने खतरा


  • धनकुटा खबर
  • .

काठमाडौं,१० फागुन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्रीको रेसबाट बाहिरिन सक्ने दाबी गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा राजनीतिक दल सम्बन्धी विधेयक २०८० माथि विरोधको सूचना दिन संसद्को रोष्टममा पुगेका उनले यसअघि दलहरुले राखेको तीन प्रतिशतको थ्रेसहोल्डकै कारण माधव नेपाल प्रधानमन्त्री बन्न नसक्ने बताएका हुन् ।

‘सांसद माधव नेपाल ३ प्रतिशत प्रावधानको पक्षमा हुनुहुन्थ्यो ? अहिले १० सांसद भएपनि ३ प्रतिशत नपुग्दा उहाँको दलले राष्ट्रिय दलको मान्यता पाएन । त्यही कारण आउन लागेको प्रधानमन्त्री पद जाने भयो, खुस्किने भयो भन्ने चर्चा छ,’ सुवालले भने ।

सुवाल नेतृत्वको दल थ्रेसहोल्ड राख्न नहुने पक्षमा रहेको छ । बर्तमान नेपालको निर्वाचन प्रणाली अनुसार प्रत्यक्षतर्फ कम्तिमा एक सीट जितेको र समानुपातिकतर्फ कूल खसेको सदर मतको ३ प्रतिशत मत नल्याउने दलले राष्ट्रिय दलको मान्यता नपाउने व्यवस्था रहेको छ ।

नेपाल नेतृत्वको एकीकृत समाजवादीले गएको संघीय निर्वाचनमा प्रतिनिधि सभामा १० स्थान प्रत्यक्षतर्फ जितेको छ । तर, समानुपातिकमा तिन प्रतिशत मत नल्याएपछि राष्ट्रिय पार्टी बन्नबाट बञ्चित भएको थियो । सत्ता गठबन्धनमा जुटेको भनिएको भद्र सहमति अनुसार हालका प्रधानमन्त्रीपछि अध्यक्ष नेपाल प्रधानमन्त्री बन्ने चर्चा रहेको छ । तर, प्रतिपक्षी दल नेकपा एमाले लगायतले भने राष्ट्रिय दलको मान्यता नपाएको पार्टीले सरकारको नेतृत्व गर्न नपाउने दाबी गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖