• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

मनिषासँगै अष्ट्रेलिया जान खोज्ने पुरेतको भीसा अस्वीकार, एनआरएनएको लेटरहेड प्रयोग


  • धनकुटा खबर
  • .

चर्चित अभिनेत्री मनिषा कोइरालासँगै अष्ट्रेलिया जान लाग्दा एक जनाको भीसा आवेदन अस्वीकार गरिएको छ । अष्ट्रेलियाको अध्यागमन कार्यालयले फर्जी कागजात पेश गरेको भन्दै कोइरालासँगै त्यता जान तम्तयार नक्कली पुरेतलाई भीसा नदिएको बताइन्छ ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको लेटरहेड दुरुपयोग गरेर ती व्यक्तिलाई त्यता लैजान चलखेल गरेको तथ्य खुलेको छ । तर,लैजान खोजिएको व्यक्तिको परिचय प्रष्ट छैन ।

सिड्नीको स्थानीय बरउड पार्कमा मार्च २४ का दिन आयोजना गर्न लागिएको होली कार्यक्रममा मनिषा कोइरालासहित कलाकारहरु दिनेश डिसी,केही गायक सहभागी हुने प्रचार गरिएको छ । तर, सोही कार्यक्रममा पुरेतको रुपमा सहभागी गराउन आवेदन दिने एक जनाको भीसा अस्वीकार भएको हो ।

उनलाई दिइएको पत्र नक्कली भएको वास्तविकता खुलेपछि आयोजकहरु सम्पर्क बाहिर छन् । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको लेटरहेडमा वर्तमान अध्यक्ष अनिल पोखरेलको हस्ताक्षरसहित ती व्यक्तिलाई अष्ट्रेलिया आउन निम्तो गरिएको देखिन्छ ।

पत्रमा उनको आतेजाते हवाई टिकटसहित उता बस्ने,खानेलगायत सम्पूर्ण व्यवस्थापन एनआरएनले नै गर्ने उल्लेख छ । उक्त तथ्य खुलेपछि एनआरएन अष्ट्रेलियाले तत्काल त्यहाँको अध्यागमन र प्रहरीमा उजुर हालेको थियो ।

‘गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको प्रस्तावित चाड पर्वसँग कुनै पनि सम्बन्ध छैन । अध्यक्षसहित संस्थाको विवरणहरू प्रयोग गरिएको कागजात किर्ते भएको र यस्ता कार्यले संगठनको अखण्डता र समुदायका सदस्यहरूको विश्वासलाई कमजोर बनाउँछ,’ अध्यक्ष पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पोखरेलले हस्ताक्षर दुरुपयोगमा संलग्नलाई कारवाहीको माग गर्दै अध्यागमन र प्रहरीमा उजुर हालेको जानकारी दिए । नक्कली पुरेत बनाएर अष्ट्रेलिया लैजान खोजिएको घटनामा ठूलो गिरोहको संलग्नताको आशंका छ ।

अष्ट्रेलियाको कानूनमा नक्कली कागजपत्र बनाउने, पेश गर्ने काम फौजदारी अपराध भएकाले सरकारवादी अभियोग लाग्ने उल्लेख छ । त्यस्तो अपराध प्रमाणित भएमा जेल सजाय र देश निकालासम्मको कारवाही हुन्छ ।

पछिल्लो समय नेपाली समुदायका नाममा खोलिएका विभिन्न संघ संस्थामा कलाकार, पत्रकार र मनोरञ्जनकर्ताको नाममा आफन्तलाई बोलाउने गरिएको छ । कतिपय अवस्थामा मोटो रकम लिएर नेपालीलाई अष्ट्रेलिया पुर्याउने गरिएको छ ।

उक्त कार्यक्रम लाहुरे टिभीले होलीको अवसरमा आयोजना गर्न लागेको बताइन्छ । कार्यक्रममा नेपालबाट पुरेतको रुपमा एक जनालाई त्यहाँ लैजान खोजिएको तथ्य खुलेको हो ।-जनआस्था

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖