काठमाडौ । धोबिनी गाउँपालिका ४ लंगडीमा बस्दै आएकी दुई दिदीबहिनी माथि बज्रपात परेको छ । १० वर्षीया प्रियंका कुमारी ठाकुर र ७ वर्षीया मनीषा कुमारीको आफन्त कोहि छैनन् ।
८ वर्ष पहिले आमाबुबाको मृत्यु भएपछि वृद्ध हजुरआमाको घरमा बस्दै आएका उनीहरु हजुरआमाको पनि मृत्यु भएपछि दुवै जना टुहुरो भएका छन् । लंगडीमा रहेको फुसको जर्जर झुपडीमा बस्दै आएकी दुवैजना यतिबेला हजुरआमाको श्राद्धको लागि रकमको खोजीमा छन् ।
प्रियंकाले हजुरआमाको श्राद्ध फागुन १५ गते सोमबार परेको र आफूसँग एक सुको पनि नरहेको बताइन् । सम्पत्तिको नाममा एक मात्र झोपडी रहेको छ भने खेतबारी छैन ।
उनीहरु जन्मिएको केहि दिनपछि बुबा छेदी ठाकुरको ३० वर्षको उमेरमा मृत्यु भएको थियो । बुबा कमाउन बाहिर गएको बेला उनको अज्ञात समूहले हत्या गरेका थिए । त्यसको केहि दिनपछि आमाले पनि उनीहरुलाई छाडेर गइन् । त्यसपछि प्रियंका र मनिषा हजुरआमासँगै बस्दै आएका थिए ।
हजुरआमाले पनि गाउँघरमा मागेर दुई नातिनीको भरणपोषण गर्दै आइरहेकी थिइन् । तर, फागुन ३ गते हजुरआमाको पनि कालगतिले निधन भयो । अब यस संसारमा दुवै दिदीबहिनीको कोही आफन्त नभएपछि सहयोगको लागि भौतारिरहेकी छन् ।
हजुरआमाको छोरा नभएको कारण १० वर्षीया प्रियंकाले हजुरआमालाई मुखाग्नि दिएर क्रियाकर्ममा बसेकी छन् र सहयोगको अपेक्षा गरेकी छन् ।
