• Saturday 17th of October 2026

चोलेन्द्रको कोटाबाट ४० घण्टा मन्त्री बनेका हमालले दिए कांग्रेस महासमिति सदस्यबाट राजीनामा


  • धनकुटा खबर
  • .

काठमाडौं,११ फागुन । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका महासमिति सदस्य गजेन्द्र हमालले राजीनामा दिएका छन् । कांग्रेसको बिहीबार सम्पन्न महासमिति बैठकमा हिन्दूराष्ट्रको मुद्दालाई बेवास्ता गरिएको भन्दै उनले पदबाट राजीनामा दिएका हुन् ।

काँग्रेस बाँकेका पुर्वसभापति समेत रहेका हमालले हस्ताक्षर संकलन अभियानमा सक्रिय भूमिका निभाएका थिए ।

हमालले सामाजिक सञ्जालमा लेखेका छन्,‘हिन्दु राष्ट्र हुनुपर्ने माग राख्ने सबै साथीहरुको उपेक्षा गरिएको हुँदा र हिन्दू राष्ट्रको एजेण्डालाई सफल बनाउन नसकेको हुँदा नैतिकताले पनि महासमितिको सदस्य पदमा बसिरहनु उचित नभएको हुँदा राजीनामा दिने घोषणा गर्दछु ।’

हमाल तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा ४० घण्टा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेर चर्चामा आएका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर गरेर कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बनाउन सर्वोच्चले परमादेश दिएपछि बनेको सरकारमा हमाल मन्त्री बनेका थिए ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठानसमेत रहेका उनी जबराको कोटाबाट मन्त्री बनेका थिए । २०७८ असोज २२ गते मन्त्री नियुक्त भएका उनले मन्त्री नियुक्त भएको ४० घण्टामै असोज २४ मा राजीनामा दिएका थिए ।

देउवाले तत्कालीन नेपाली कांग्रेस फुटाएर कांग्रेस प्रजातान्त्रिक बनाउँदा बाँके सभापति बनेका उनी पछिल्ला वर्षहरुमा कांग्रेसको सक्रिय राजनीतिमै थिएनन् । तर, यसपटक भने उनी महासमिति सदस्य निर्वाचित भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖