• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

शिक्षक नेता कँडेलको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर


  • धनकुटा खबर
  • .

काठमाडौं । चितवनको कालिका नगरपालिका वडा नम्बर ५ स्थित भिमोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद कँडेल नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र मुद्दामा दोषी ठहर भएका छन् । कँडेल शिक्षक नेता हुन् ।

आफूले पिएचडी गरेको दाबी गर्दै आएका छन् । उनले विरेन्द्र क्याम्पस चितवनबाट आइ.एस.सी. उत्तीर्ण गरेको भनी उल्लेख गरी त्रिभुवन विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र (विज्ञान) उत्तीर्ण भएको तथा छत्रपति साहु जी महाराज विश्वविद्यालय, कानपुर, भारतबाट स्नातक तह (बिए) उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिएको अख्तियारको दाबी थियो ।

बयान छल्न नक्कली रिपोर्ट बनाएका थिए शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष उनलाई बयानमा बोलायो । भ्रष्टाचार मुद्दाको तनावमा परेका कँडेल बेहोस भएर आयोगभित्रै ढलेका थिए । उनलाई तत्कालै एम्बुलेन्समा अस्पताल लगियो ।

अस्पतालबाट ठिक भएर उनी घर फर्किए । तर, आयोगमा फेरि बयानमा भने फर्किएनन् । उनले आफू गम्भीर बिरामी भएको भन्दै चितवनको भरतपुर अस्पतालबाट एउटा मेडिकल रिपोर्ट बनाउन लगाए । मुटुको रोग रहेको र हाइपरटेन्सनको समस्या भएकाले तीन महिना पूर्ण रूपमा आराम गर्नुपर्ने पत्रमा लेखिएको थियो ।

त्यही पत्र देखाएर उनले आयोगलाई टार्ने प्रयास गरे । तर, आयोगले बुझ्दा उनी विभिन्न कार्यक्रममा गइरहेका हुन्थे । यो थाहा पाएपछि आयोगले उनलाई बयानका लागि उपस्थित हुन भन्दै ३ पुस २०७९ मा प्रहरीमार्फत म्याद तामेल ग¥यो । तैपनि उनी आएनन् । १३ र १४ पुसमा गोरखापत्रमा सूचना निकाल्यो ।

त्यति गर्दा पनि उनी उपस्थित भएनन् । त्यसपछि आयोगले उनी गम्भीर बिरामी रहेको भन्दै पत्र लेख्ने भरतपुर अस्पतालसँग बुझ्यो । त्यस क्रममा तीन महिना स्कुलबाट बिदा चाहिने भएकाले व्यक्तिगत चिनजानका आधारमा त्यस्तो पत्र बनाइदिन आग्रह गरेको खुल्यो ।

त्यसपछि आयोगले अस्पताललाई पत्र नै पठाएर स्पष्टीकरण माग्यो । जसमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले जवाफ लेखे, ‘थप उपचार गर्न तीन महिना बिदा पाए सजिलो हुन्थ्यो भन्ने निजको आग्रहसमेत विचार गरी तीन महिना आराम गर्न सिफारिस गरेको हुँ ।’

अस्पतालबाट झुटो विवरणको रिपोर्ट बनाएको आयोगले पत्ता लगाएपछि बल्ल उनी बयानमा उपस्थित भए । २५ भदौ ०६३ मा तृतीय तहको शिक्षकबाट जागिर सुरु गरेका कँडेलको प्रवीणता प्रमाणपत्र तथा स्नातक तहको शैक्षिक प्रमाणपत्र नक्कली भएको आयोगको दाबी छ ।

उनले भारतको मगध विश्वविद्यालय, बिहार बोधगयाबाट स्नातक तथा महाराष्ट्र स्टेट बोर्ड अफ पुनेबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको भनेर प्रमाणपत्र पेस गरी शिक्षकको स्थायी जागिर खाएका थिए । १७ मे २००० मा उनले स्नातक उत्तीर्णको समकक्षता पेस गरेका थिए ।

सो समकक्षता नै जारी नभएको भनेर त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले आयोगलाई जानकारी गराएको थियो । त्यस्तै, चितवनको वीरेन्द्र क्याम्पसबाट आइएस्सी उत्तीर्ण गरेको उनको दाबी थियो । तर, भर्ना भए पनि उनी फेल भएको जवाफ कलेजले आयोगलाई गराएको थियो ।

दुई वटा शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दायर भएको हो । बयानका क्रममा कँडेलले प्रमाणपत्र तहको विवरण भर्दा आफूले गल्ती गरेको र भारतबाट उत्तीर्ण गरेको दाबी गरेका थिए । कांग्रेसनिकट शिक्षक संघको राजनीतिमा पनि सक्रिय कँडेलले आफूले सिंघानिया विश्वविद्यालयबाट पिएचडीसमेत गरेको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖