• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

२ वर्षीया छोरीलाई होटेलमा छोडेर आमा सम्पर्कविहीन


  • धनकुटा खबर
  • .

दाङमा एक जना महिला आफ्नी नाबालिका छोरीलाई होटेलमा छोडेर भागेकी छन्।

तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँकी २१ वर्षीया अमृता चौधरी आफ्नी दुई वर्षीया छोरी निशिता चौधरीलाई शुक्रबार बिहान पौने १० बजेतिर लमही बजारस्थित एक होटलमा छाडेर सम्पर्कविहीन भएकी हुन्।
वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठका अनुसार छोरीलाई छोडेर आमा बेपत्ता भएको खबर होटेल संचालकले दिएपछि प्रहरीले बालिकाको उद्धार गरेको छ।

अमृता छोरी निशिताका साथै एक पुरुषसँग होटल छिरेका थिए। चिया पिएपछि बसको टिकट काट्न जाने भन्दै उनीहरू बालिकालाई त्यहीँ छोडेर गएका थिए। उनीहरूले केहीबेरमा फर्केर आउने भनेपनि फर्केर नआएपछि होटल सञ्चालकले प्रहरीमा खबर गरेका थिए।

छोरीलाई अलपत्र अवस्थामा होटेलमा छोडेर अमृता सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अमृता गत असोजदेखि घरबाट छोरीसहित निस्किएकी थिइन्।

अमृताका श्रीमान निर्मलजन चौधरीले प्रहरीमा खोजतलासका लागि निवेदन पनि दिएका थिए। अमृता र निर्मलजनले तीन वर्ष पहिले प्रेम विवाह गरेका थिए।

आमाले होटेलमा छोडेर गएकी दुई वर्षीया बालिकाको तस्बिर प्रहरीले सार्वजनिक गरेपछि बालिकाको मामा घरकी हजुरआमा बाँकेको राप्ती सोनारी गाउँपालिका–१ की सरिता चौधरी प्रहरीको सम्पर्कमा पुगेकी थिइन्।

त्यसपछि बुवा निर्मलजन पनि प्रहरीमा पुगेका थिए। बालिकालाई बुवा निर्मलजनले आफ्नो घरमा लगेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए।

अमृताको साथमा रहेका पुरूष भारतीय नागरिक सुशान्त गुप्ता रहेको प्रहरीले जनाएको छ।

आमाले होटेलमा अलपत्र अवस्थामा छोडेर गएकी बालिकाको नाक, आँखा, मुखका साथै शरिरका विभिन्न भागमा चोट पटक र नीलडाम देखिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

उनीहरुले होटेलमा पोखरा जान टिकट काट्ने भनेपनि उनीहरु पश्चिम तर्फ लागेको प्रहरीको अनुमान छ।

बालिकाकी आमाको खोजी गर्न देश भरका प्रहरी युनिटहरुमा सूचना गरिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖