• Saturday 17th of October 2026

अनेरास्ववियु मकवानपुरमा विवाद, अध्यक्षका आकांक्षी आईसीयूमा


  • धनकुटा खबर
  • .

हेटौंडा । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको मकवानपुर जिल्ला कमिटीको २८ औं अधिवेशन विवादित बनेको छ ।

अध्यक्षका आकांक्षी पुष्कर तिमिल्सिना बिरामी भएर अस्पताल भर्ना भएका बेला कमिटी घोषणा भएको भन्दै एक पक्षले विवाद गरेको हो ।

अधिवेशनबाट अमृत बर्तौलाको अध्यक्षतामा १० पदाधिकारीसहित ५१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको घोषणा गरिएको छ । उक्त कमिटीमा अध्यक्षका आकांक्षी तिमिल्सिनालाई उपाध्यक्ष राखिएको छ । अध्यक्ष आकांक्षी अस्पताल भर्ना भएका बेला एकपक्षीय रुपमा घोषणा गरिएको भन्दै एउटा पक्षले विरोध जनाएको छ ।

शुक्रबार बन्द सत्र सुरु हुन लाग्दा केही युवाहरुले अध्यक्षका आकांक्षी तिमल्सिनामाथि विवाद गरेका थिए । विवादपछि तिमल्सिना अधिवेशन स्थलमै लडेका थिए । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । शनिबार उनी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत रहेको परिवारका सदस्यले जानकारी दिएका छन् ।

अध्यक्षका आकांक्षी नै अस्पताल भर्ना भएपछि अधिकांश प्रतिनिधिहरुले साँझसम्म प्रक्रिया रोक्न अनुरोध गर्दा नेतृत्वबाट सुनुवाइ नभएको अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा प्रदेश सहइन्चार्ज किसन घिसिङले बताए ।

अधिवेशनको अध्यक्ष मण्डलका अध्यक्ष अनेरास्ववियु बागमती प्रदेश अध्यक्ष लालबहादुर बुढाथोकीले बर्तौलाको अध्यक्षतामा कमिटी घोषणा गरेका थिए ।

कमिटी घोषणा गरेको विरोधमा केही प्रतिनिधिहरुले अधिवेशनस्थलमा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेल, स्थायी कमिटी सदस्य तथा मकवानपुर जिल्ला इञ्चार्ज देवी ज्ञवाली, विद्यार्थी इञ्चार्ज किशोरबिक्रम मल्ल, अनेरास्ववियु सचिव तथा बागमती प्रदेश इञ्चार्ज सुजन कडरियाको अगाडि नाराबाजी गरेका थिए ।

विद्यार्थीहरुले नाराबाजी गर्दै नेतृत्व चुनावबाट चयन हुनुपर्ने माग राखेको अनेरास्ववियु केन्द्रीय सदस्य विशाल पौडेलले जानकारी दिए ।

तिमल्सिना पक्षले खुला सत्रमै एमालेका मकवानपुर जिल्ला सदस्य तथा विद्यार्थी इञ्चार्ज फुर्वा दोर्जे लामालाई अध्यक्ष मण्डलको अध्यक्ष बनाउन माग गरेको थियो ।

तर बुढाथोकीलाई बनाएपछि विवाद भएको थियो । अध्यक्ष बर्तौलाले अनेरास्ववियु प्रदेश अध्यक्ष नै अध्यक्ष मण्डलको अध्यक्ष हुने केन्द्रीय कमिटीको निर्णय रहेको बताए ।

पछिल्लो समय अनेरास्ववियुको मकवानपुर जिल्ला कमिटीमा विवाद बढ्दै गएको छ । गत वर्ष भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियु पराजित भएपछि विवाद बढेको थियो । एक विद्यार्थी नेताले भने, ‘एमाले मकवानपुरमा माधव नेपाल पक्ष हुँदा भन्दा बढी अहिले गुटबन्दी छ ।’-अनलाइनखबर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖