मुल्तानमा ३० अगस्टदेखि १७ सेप्टेम्बरसम्म चल्ने क्रिकेटको एसिया कप २०२३ को ग्रान्ड ओपनिङका बेला उनको लुकबारे विश्व भरी चर्चा भयो । उनको उत्कृष्ट प्रस्तुतिमा मानिसहरू मोहित भए । उनको भिडियो यतिसम्म भाइरल भयो कि उनले यसलाई विश्वव्यापी पहिचान दिलायो । नेपालको राष्ट्रिय ध्वजबाट प्रेरणा लिएर तयारी गरिएको उनको पहिरन उनी जस्तै चर्चित भयो ।
त्रिशालालाई भारतीय सञ्चार माध्यम दैनिक भास्करले आफ्नो ‘ये मैं हूं’ सेक्सनका लागि अन्तर्वार्ता लिएको छ । उनले यसमा ग्लोबल प्लेटफर्मबाट पाएको लोकप्रियता र आफ्नो ड्रेसिङ सेन्सबारे कुरा गरेकी छिन् ।
त्रिशालाले दैनिक भास्करसँगको कुराकानीमा भनेकी छिन्, ‘भारत मेरो मनको निकै नजिक छ । दुवै देशको मिल्दो जुल्दो संस्कृति, रीति–रिवाजले दुई देशलाई एक सूत्रमा बाँध्छन् । मेरो बाल्यकाल हिन्दी फिल्म हेरेर र हिन्दी गीत गुनगुनाएरै बित्यो । ’
‘मैले जबदेखि सङ्गीतलाई महसुस गर्न र बुझ्न सुरु गरेँ तब मेरो रुझान सङ्गीततर्फ बढ्यो । तर मैले यसमा आफ्नो करियर बनाउने कहिल्यै सोचेकी थिइन् । यसलाई विश्वास वा ईश्वरको उपहार भन्न सक्नुहुन्छ कि म गायक बनेँ । तर म कहिले गायक बनेँ भन्ने कुरा म आफैँलाई थाहा छैन । मेरो उद्देश्य त डाक्टर बन्नु थियो ।’
