• Sunday 29th of November 2026

रोनाल्डो र मेस्सी फेरि आमनेसामने ?


  • धनकुटा खबर
  • .

मियामी । पूर्वअर्जेन्टिनी सहकर्मी कार्लोस टेभेजको बिदाइ खेलमा लियोनेल मेस्सी खेल्ने आयोजकले पुष्टि गरेका छन्। सन् २०२२ मा सन्न्यास लिएका टेभेजको उक्त खेल आगामी डिसेम्बर २० मा हुनेछ।

म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र युभेन्ट्समा खेलेका ४२ वर्षीय टेभेजले बाल्यकालको क्लब बोका जुनियरबाट खेलजीवन टुङ्ग्याएका थिए। उनले गत वर्ष आफ्नो बिदाइ खेलमा मेस्सी र म्यानचेस्टर युनाइटेडका पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डोलाई फरक टोलीमा खेलाउने इच्छा व्यक्त गरेका थिए।

आयोजकले बिहीबार इन्स्टाग्राममार्फत विश्वकै उत्कृष्ट खेलाडीलाई ‘अपाचेको अन्तिम नाच’ मा स्वागत गर्न पाउनु गौरवको विषय हुने जनाएको छ। बोका जुनियरको ला बोम्बानेरा रङ्गशालामा हुने खेलका लागि रियो फर्डिनान्ड, सर्जियो एगुएरो, लियान्द्रो पारेडेस, जियानलुइजी बुफोन र मार्टिन पालेर्मोलगायत खेलाडीको सहभागिता पनि पक्का भएको छ।

मेस्सी र रोनाल्डोबिच अन्तिम पटक प्रतिस्पर्धात्मक खेल सन् २०२० मा भएको थियो, जतिबेला उनीहरू क्रमशः बार्सिलोना र युभेन्ट्सबाट खेलेका थिए। रोनाल्डो साउदी प्रो लिगमा गएपछि सन् २०२३ मा मेस्सीको पेरिस सेन्ट जर्मेनले रियाद सिजन ११ सँग खेलेको प्रदर्शनी खेलमा भने यी दुई आमनेसामने भएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖