• Tuesday 6th of October 2026

इजरायलमा आक्रमणपछि साथीको सम्पर्कमा आएका कञ्चनपुरका विपिन अझै सम्पर्कविहीन


  • धनकुटा खबर
  • .

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का किशोरराज जोशीले इजरायलमा भएका भाइ (अंकलको छोरा) विपिनसँग शनिबार दिउँसो कुराकानी गरेका थिए । किशोरका अनुसार विपिनले ‘सबै ठीकै छ, राम्रो चलिरहेको छ’ भनेका थिए ।

भाइसँग दिउँसो कुरा भएपछि किशोर आफ्नो काममा केन्द्रित भए । विपिनले पछि कुरा गरौंला है भनेकाले उनी साँझ फोन आउँछ कि भन्ने आशामा थिए तर इजरायलमा प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले आक्रमण गरेको खबर थाहा पाए ।

हमासको आक्रमणमा केही नेपालीहरु पनि परेको थाहा पाएपछि किशोरको मनमा चिसो पस्यो । किशोरले विपिनलाई फेरि सम्पर्क गर्ने कोसिस गरे । तर सम्पर्क भएन ।

किशोरका अनुसार २६ भदौमा इजरायलको एउटा कृषि फर्ममा काम गर्न गएका विपिनको २८ गतेदेखि नै अत्तोपत्तो छैन ।

Navjiwan hospital adv
इजरायलमा सुरक्षित स्थानमा बसिरहेका विपिनका साथीहरु भने लामो प्रयासपछि सम्पर्कमा आएका छन् । किशोरलाई उनीहरुले बताए अनुसार हमासले आक्रमण गरेपछि विपिन साथीहरुको सम्पर्कमा आएका थिए ।

तर त्यसपछि भने सम्पर्क हुन सकेको छैन । ‘मेरो सम्पर्कमा आएका भाइको एकजना साथीले आक्रमणपछि उद्धार गरिदिनुस् भनेर हामीसँग आग्रह गरेको थियो भन्छन् तर अहिलेसम्म कुनै पत्तो लागेको छैन,’ किशोरले भने ।

‘भाइसँग शनिबारका दिन दिउँसो कुरा भएको थियो । सबै ठीकै छ, काम पनि राम्रो चलिरहेको छ । खाना खाइरहेको छु दाजु, पछि कुरा गरौंला है भनेर फोन राख्यो,’ केही विद्यार्थीहरु अस्पतालमा उपचारमा छन् भन्ने सुनेका किशोरले भने, ‘भाइ उपचारमै भए पनि हुने थियो, तर यकिन गर्न सकिएको छैन ।’

आक्रमणपछि पनि साथीहरुसँग एकपटक सम्पर्कमा आएका कारण विपिन सकुशल छन् भन्नेमा किशोर र उनको परिवार आशावादी छ । ‘इजरायल गएको भाइ भेटिएन घाइते भएको भए भेटिनुपर्ने हो । जहाँ भए पनि ऊ सकुशल होला भन्ने आशा जीवितै छ,’ दाजु किशोरले भने ।

अहिले किशोरको दिनचर्या भाइसँग सम्पर्क जुटाउने प्रयासमै बितिरहेको छ । सोमबार पनि विपिनको अवस्था पत्ता लगाउने प्रयास गरे पनि राति अबेर भइसक्यो भन्दै जानकारी नदिइएको उनको गुनासो छ । ‘सरकारले अफिसियली हिसाबले कुरा गरेर भाइको अवस्थाबारे चासो दिए आभारी हुने थिएँ,’ उनले भने ।

विपिन किशोरका काकाका छोरा हुन् । घरमा उनीसहित दुई जना भाइबहिनी छन् । उनी गत भदौमा मात्र सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञान विषयको अध्ययन सकेर इजरायल गएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖