मकवानपुर । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा मकवानपुरमा एक पुरुष पक्राउ परेका छन् ।
जिल्लाको इन्द्रसरोवर गाउँपालिका–४ गोठभित्ता निवासी ४० वर्षीय रमेश पाख्रिनले ३५ वर्षीया श्रीमती रुकु पाख्रिनलाई कुटपिट गरी हत्या गरेको आरोप लागेको हो ।
प्रहरीका अनुसार मंसिर ११ गते राति करिब ९ बजे श्रीमान्–श्रीमतीबीच झगडा भएको भन्दै स्थानीयले जानकारी गराएका थिए । सूचना पाएपछि प्रहरी चौकी फाखेलबाट टोली खटिएको थियो ।
प्रहरी घटनास्थल पुग्दा रुकु घरभित्रको सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । प्रारम्भिक जानकारीअनुसार रमेशले मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गर्दा उनी अचेत भएकी थिइन् ।
घटनाबारे मंसिर १२ गते बिहान करिब १०:३० बजे थप जानकारी प्राप्त भएपछि प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा सोधपुछ गरेको थियो ।
घटनामा संलग्न रहेको आरोपमा रमेश पाख्रिनलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
