• Wednesday 7th of October 2026

माओवादीको एकता प्रस्तावमा बाबुरामको टिप्पणीः पुच्छर काटेर मर्ज गर्ने कुरा गरिएको छैन


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा(माओवादी केन्द्र) र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)बीच एकता प्रक्रिया तत्काल अवरुद्ध भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमान्त्री पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङद्वारा संयुक्त हस्ताक्षरित एकता प्रस्तावको पत्रले नेसपामा किचलो उत्पन्न भइरहेको बेलामा अध्यक्ष भट्टराईले एकताका लागि असहमति जाहेर गरेका छन्।

माओवादी केन्द्रले एकताका लागि पठाइएको पत्रमा पार्टीको नाम समेत परिवर्तन गर्न तयार रहेको उल्लेख गरिएको थियो । तर नेसपाका अध्यक्ष भट्टराईले पार्टीको नाम परिवर्तन गरे पनि एकता गर्न नसकिने आशयको अभिव्यक्ति सामाजिक सञ्जालमार्फत व्यक्त गरेका हुन्।

उनले रुपान्तरणसहितको एकता आवश्यक रहेको भन्दै डेन्टिंगपेन्टिंग गरेर वा पुच्छर काटेर मर्ज नसकिने प्रष्ट्याएका छन्। उनले रुपान्तरण सहितको एकता आवश्यक रहेको औंल्याएका छन् ।

‘नेपाल समाजवादी पार्टीले आफ्नो स्थापनाकालदेखि नै देशमा वैकल्पिक नयॉ समाजवादी “समुन्नत समाजवादी” शक्ति निर्माणमा जोड दिंदै आएको आएको छ।’, उनले लेखेका छन्, त्यस निम्ति सबैसंग ‘रूपान्तरण सहितको ध्रुवीकरण’ को कुरा गरेको छ। कसैसंग पनि डेन्टिंगपेन्टिंग गरेर वा पुच्छर काटेर मर्ज गर्ने कुरा कहिंकतै गरेको छैन।

गत भदौ ३० मा माओवादी केन्द्रले नेसपाका अध्यक्ष भट्टराई भारत भ्रमणमा गएको बेला एकताका लागि पत्राचार गरेको थियो । भट्टराईलाई सम्बोधन नगरेरै अर्का अध्यक्ष महिन्द्र राय यादवलाई सम्बोधन गरेर पत्राचार गरिएपछि उक्त पार्टीमा अन्तरद्वन्द्व चुलिएको छ ।

नेसपामा अध्यक्ष भट्टराई, हिसिला यमी लगायतका नेताहरु माओवादीसँग एकता नगर्ने पक्षमा रहे पनि अर्का अध्यक्ष यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठ लगायत नेताहरु तत्काल माओवादीसँग एकता गर्नुपर्ने पक्षमा देखिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖