• Wednesday 7th of October 2026

ठूला मालवाहक सवारी काठमाडौं प्रवेशमा रोक


  • धनकुटा खबर
  • .

काठमाडौं । दसैं, तिहारका लागि आ–आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले शुक्रबारदेखि देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ।

दसैंको कोजाग्रत पूर्णिमासम्मका लागि लागि यात्रु आ–आफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो। यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीमा भने बन्देज कायम रहने जनाएको छ। दसैंका समयमा बर्सेनि काठमाडौं उपत्यकाबाट ठूलो सङ्ख्यामा यात्रु बाहिरिने गरेका छन्।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा गत असोज २३ गते बसेको यातायात व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार शुक्रबारदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरिएको हो ।

रुट परमिट खुला आगामी कात्तिक १० गतेसम्म जारी रहने बताइएको छ । रुट परमिट खुला गरेसँगै अब सार्वजनिक सवारी यात्रु लिएर देशका विभिन्न भागमा निर्बाध रूपमा जान पाउने भएका छन् ।

सोही बैठकको निर्णयअनुसार शुक्रबारदेखि खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरू ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला सवारी काठमाडौं उपत्यका प्रवेशमा रोक लगाइएको छ । दशैंका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले सरकारले गत असोज २२ गतेदेखि नै अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖