• Wednesday 7th of October 2026

हर्षबढाईँका साथ दशैँघरमा राखियो जमरा


  • धनकुटा खबर
  • .

काठमाडौ, असोज २८ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व वडा दशैँ आजदेखि सुरु भएको छ । दशैँको पहिलो दिन आज घटस्थापनाको अवसरमा काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा विधिवत रुपमा जमरा राखिएको छ। आइतबारबाट विधिवत रुपमा शुरु भएको नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी विधिवत रुपमा जमरा राखिएको हो।

हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत मन्त्रोच्चारणसहित आज बिहान ११ बजेर २९ मिनेटको शुभ साइतमा जमरा राखिएको हो। उक्तअवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ। आज घटस्थापनको दिन बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखोस्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दशैँघरमा जमरा छर्ने गरिन्छ।

घटस्थापना गर्दा पूजाकोठा वा दशैँ घरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाअर्चना गरिन्छ।नवरात्रीभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ।

नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजार्चना गरिन्छ। विशेषतः जमरा जौ को राख्ने गरिन्छ। तर आजभोलि भने मकै र गहुँ पनि मिसाएर जमरा राख्ने प्रचलन छ।

नवरात्रको पहिलो दिन आज आइतबार नवदुर्गा भवानीको शैलपुत्री स्वरूपको पूजाआरधना गरेर मनाइँदैछ। शैल भन्नाले हिमाल र पुत्री भन्नाले छोरी बुझिन्छ। हिमालयकी छोरी (पार्वती) भएकीले शैल पुत्री भनिएको हो।

दुर्गा भवानीका नौ स्वरूपमध्ये शैलपुत्री पनि एक हो। दाहिने हातमा त्रिशुल र बाँया हातमा कमलको फूल लिएर बसाहको सवारी गर्ने शैलपुत्री स्वरूपा देवीको जाज्वल्यमान स्वरूपको ध्यान मात्र गर्नेले पनि संकट टर्ने विश्वास गरिन्छ। मार्कण्य पुराणको अनुसार शैलपुत्री नवदुर्गामा पहिलो दुर्गा हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖