• Friday 9th of October 2026

नौ दिनदेखि फसेका ४१ पुरुषका लागि भारतीय उद्धारकर्मीले नयाँ सुरुङ खन्ने


  • धनकुटा खबर
  • .

देहरादुन (भारत), ४ मङ्सिर । भारतीय उद्धारकर्मीहरूले नौ दिनदेखि सुरुङमा फसेका ४१ मानिसलाई निकाल्नका लागि सङ्घर्ष गरिरहेका छन् । पछिल्लो प्रयास असफल भएपछि उनीहरूले नयाँ सुरुङ खन्ने प्रयास गरिरहेका छन् ।

सुरुङको एक भाग भत्किएपछि एक्सक्याभेटरहरूले गत कात्तिक २६ गतेदेखि उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङबाट माटो, कङ्क्रिट र भग्नावेशष निकालिरहेका छन् । निरन्तर खसेको भग्नावशेषका साथै महत्त्वपूर्ण भारी ड्रिलिङ मेसिन बारम्बार बिग्रँदा वायुसेनाले नयाँ उपकरणमा दुई पटक एयरलिफ्ट गर्नुपर्दा उद्धार प्रयास सुस्त भएको छ ।

इन्जिनियहरूले भग्नावशेषबाट करिब ९० सेन्टिमिटर (करिब तीन फिट) चौडाइ भएको स्टिलको पाइप तेर्सोरूपमा लैजाने प्रयास गरिरहेका छन् । उक्त चौडाइको पाइपबाट फसेका कामदारलाई बाहिर निकाल्न सहज हुनेछ तर अधिकारीहरूका अनुसार भग्नावशेषका बीच कर्कश आवाजले ‘आतङ्कको स्थिति’ उत्पन्न भएपछि शुक्रबार राति ड्रिलिङ बन्द गरिएको थियो । उद्धारकर्मीको टोलीले अहिले माथिबाट समेत पूरै नयाँ सुरुङ खन्ने विचार गरिरहेको छ ।

उत्तराखण्डको ठूलो भाग पहिरोको जोखिममा रहेको भन्दै विज्ञहरूले उक्त राज्यमा व्यापक निर्माणको असरका बारेमा चेतावनी दिएका छन् ।

“हरम्भव प्रयास भइरहेको छ”, उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले सोमबार एक विज्ञप्तिमा भने, “सुरुङभित्र फसेका कामदार सुरक्षित छन् ।” उनले सङ्कटका बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको जानकारी दिए।

वरिष्ठ स्थानीय निजामती कर्मचारी अभिषेक रुहेलाले नयाँ ड्रिलिङ साइटसम्मको ट्र्याक तीन–चौथाइ बनाइएको जानकारी दिए । “सुरुङमाथि ड्रिलिङको काम भइरहेको छ, एक हजार दुई सय मिटर लामो सुरुङमध्ये नौ सय मिटरसम्म काम भइसकेको छ ।”

सुरुङमा फसेका कामदारहरूसँग उद्धारकर्मीहरूले रेडियोमार्फत कुराकानी गरेका छन् । साथै उनीहरूले खाना, पानी, अक्सिजन र औषधि पनि साँघुरो पाइपबाट पठाइरहेका छन् । कामदारहरूलाई ठूलो प्याकेटमा खाना पठाउने योजनासमेत बनाइएको छ ।

सुरुङको मुखमा रहेको स्थानीय देवता बौखनागको मूल मन्दिर निर्माणका क्रममा सारिएको भन्दै गाउँलेहरूले हिन्दू मन्दिर स्थापना गरेका छन् । उनीहरूले सुरुङको मुखमा रहेको मन्दिर भत्किएका कारण सुरुङ भत्किएको दोष दिएका छन् ।

उक्त सुरुङ प्रधानमन्त्री मोदीको सडक परियोजनाको एउटा भाग हो । उक्त परियोजनाको उद्देश्य केही प्रसिद्ध तीर्थस्थल र चीनसँग सीमा जोडिएका क्षेत्रहरूबीचको यात्रा अवस्थामा सुधार गर्नु रहेको छ । रासस

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖