• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मालाई जन्मकैदको फैसला


  • धनकुटा खबर
  • .

काठमाडौं । थमन बिक हत्या प्रकरणमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मालाई जन्म कैदको सजाय सुनाएको छ ।

महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले आज शर्मालाई जन्म कैदको सजाय सुनाएको हो ।

मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग लागेका नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले भने सफाइ पाएका छ्न । कोइरीसँगै अर्का अभियुक्त पवन कापरले पनि सफाइ पाएका छन्।

सांसद कोइरीसहित २८ जना अभियुक्त थिए। तीमध्ये ७ जना अभियुक्तलाई भने कर्तव्य ज्यान मुद्दामा जन्मकैद र आगो लगाएको कसुरमा थप ६ महिना कैद सजाय हुने भएको छ।

यो सजाय पाउनेमा सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, शंकर शाही भन्ने रामशंकर मिश्र, अभिराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र राय छन्। अभिराम शर्मा लोसपाका मधेश प्रदेश संसदीय दलका नेता हुन् । यसअघि उनी साधारण तारेखमा रिहा भएका थिए । जन्मकैदको सजाय पाउने रामशंकर मिश्र जलेश्वर नगरपालिकाका पूर्व मेयर हुन् ।

जिल्ला अदालत महोत्तरीका अनुसार जन्मकैदको सजाय पाएकाहरुबाट १० लाख रूपैयाँ क्षतिपूर्ति पनि भराउने फैसला भएको छ।

मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको जलेश्वरमा एम्बुलेन्सबाट निकालेर हत्या गरिएको थियो।

प्रहरीको फरार सूचीमा रहेका कोइरी २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेको तर्फबाट महोत्तरी-१ बाट निर्वाचित भएका थिए।

उनले वारेसमार्फत् प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराएका थिए भने चुनाव जितेपछि प्रमाणपत्र पनि वारेसमार्फत् नै बुझेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖