• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

प्राधिकरणले थप १४ उद्योगहरूको बिजुली काट्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले थप १४ उद्योगहरूको बिजुली काटेको छ । विगतमा डेडिकेटेड फिडर ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियमसहितको महसुल नतिरेका थप १४ वटा उद्योगहरूको विद्युत् आपूर्ति विच्छेद गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले शुक्रवार ५ करोड रुपैयाँभन्दा बढी बिद्युत् बक्यौता भएका ग्राहकहरूको विद्युत् लाइन काटेको जनाएको छ ।

प्राधिकरणले गत पुस ६ गतेबाट बक्यौता रहेका ग्राहकहरूको लाइन काट्न सुरु गरेको छ ।

पहिलो चरणमा १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ वटा उद्योग र त्यसपछि ५ गरी ९ वटा उद्योगको लाइन काटिएको थियो शुक्रवार काटिएका १४ उद्योगको सँगै डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका २३ वटा ग्राहकहरूको लाइन काटिएको छ ।

शुक्रवार बाबा जुट मिल (५ करोड ६१ लाख रुपैयाँ), निगाले सिमेन्ट (१४ करोड २१ लाख रुपैयाँ), त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज (१५ करोड ६६ लाख रुपैयाँ), हिमाल आइरन एण्ड स्टील (८ करोड १३ लाख रुपैयाँ), जगदम्बा इन्टरप्राइजेज (४७ करोड ९८ लाख रुपैयाँ), हामा आइरन (११ करोड ५५ लाख रुपैयाँ), एभरेष्ट पेपर मिल (२१ करोड ३६ लाख रुपैयाँ) को लाइन काटिएको छ ।

यसैगरी, कसमस सिमेन्ट (३५ करोड ८२ लाख रुपैयाँ), शुभश्री अग्नी सिमेन्ट (३८ करोड १० लाख रुपैयाँ), जगदम्बा सिन्थेटिक (४७ करोड ५३ लाख रुपैयाँ), घराना फुड्स (५ करोड ९ लाख रुपैयाँ), सिद्धार्थ पेटप्लास्ट (५ करोड २४ लाख रुपैयाँ), बुटवल सिमेन्ट (३२ करोड ९८ लाख रुपैयाँ), नारायणी स्पात (७८ करोड ४९ लाख रुपैयाँ) को लाइन काटिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖