• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बालकुमारी घटनाको जवाफ दिन राज्यव्यवस्था समिति पुगे गृहमन्त्री श्रेष्ठ


  • धनकुटा खबर
  • .

काठमाडौं, पुस १६ । ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान गएको घटनाको जवाफ दिन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ संसद्को राज्यव्यवस्था तथा सुशासन समिति पुगेका छन्।

समितिले गृहमन्त्री, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग जवाफ मागेपछि मन्त्री श्रेष्ठ दुई प्रहरी महानिरीक्षकसहित समितिमा पुगेका हुन् । ईपीएस भाषा परीक्षाको विषयमा भएको प्रदर्शनमा दुईजनाको मृत्यु भएको घटनाबारे जवाफ दिन मन्त्री श्रेष्ठसँगै नेपाल प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसमेत समिति पुगेका छन् ।

गत शुक्रबार ललितपुरको बालकुमारीमा प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी भएको थियो । प्रहरीले अन्धधुन्द बल प्रयोग गर्दा दुई युवकको मृत्यु भएको थियो। समितिका सभापति रामहरि खतिवडाका अनुसार यही विषयमा बुझ्न तथा आवश्यक निर्देशन दिन आज समितिको बैठक बोलाईएको हो ।

घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाही गर्न चौतर्फी दबाब बढेपछि सरकारले आज उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । अहिले बिहान बस्ने मन्त्रिपरिषद् बैठकले आयोग गठनको निर्णय गर्न लागेको हो ।

यसअघि गृह मन्त्रालयले घटना भएकै दिन शुक्रवार नेपाल प्रहरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । तर समितिमा पीडित पक्षको प्रतिनिधित्व नभएको भन्दै मृतकका परिवारले प्रधानमन्त्रीलाई भेटेरै न्यायिक आयोगको माग गरेका थिए ।

पीडित पक्षको माग सम्बोधन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा आयोग गठन गर्न लागिएको हो । प्रहरीको गोलीबाट मारिएका दुई युवाका आफन्तले आफूहरूले राखेको ८ बुँदे माग पूरा नगरेसम्म शव नबुझ्ने बताएका छन् । सो घटनामा प्रहरीले चलाएको गोली लागेर दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖