काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली चलचित्र महाजात्रा हेर्नु भएकाे छ ।
अध्यक्ष ओलीले सोमबार बेलुकी सुन्धाराकाे सिटिसी मलस्थित सिने डी सेफमा पुगेर श्रीमती राधिका शाक्य र पार्टीका नेताहरूसहित महाजात्रा हेर्नुभएकाे हाे ।
महाजात्रा हेर्न पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेल, उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, महासचिव शंकर पाेखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल पनि पुग्नुभएकाे थियाे । महाजात्रा हेर्न एमाले रघुजी पन्त, गाेविन्द थापा, राजन भट्टराई, भगवती चाैधरी, पार्वत गुरुङ, निरु पाल, काेमल ओली लगायत एमाले नेता पनि सिटी मल पुग्नुभएकाे थियाे ।
उहाँले चलचित्र हेरेको सामाजिक सञ्जालमा फोटोसहित पोष्ट गर्नुभएकाे छ । अध्यक्ष ओलीसहित फिल्म हेर्न उपस्थित एमाले नेतालाई निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की लगायतले धन्यवाद दिनुभएकाे थियाे । हरिवंश आचार्यले केहीबेर ओलीसँग कुराकानी पनि गर्नुभएकाे थियाे ।
अध्यक्ष ओलीले महाजात्रा राम्राे लागेकाे प्रतिक्रिया दिनुभयाे । अभिनय राम्राे रहेकाे उहाँले बताउनुभयाे । महाजात्रालाई १० नम्बरमा ९.५ नम्बर दिँदै अध्यक्ष ओलीले भन्नुभयाे – ‘फिल्मलाई १० मा १० अंक दिन केही राजनीतिका विषयले रोक्यो, त्यहाँ पूण्यप्रसाद सप्रियाे कि सप्रिएन भन्ने सस्पेन्समा राखिएकाे छ, त्यसकारण ०.५ घटाएँ ।’
राजनीति अभिनयमा नभएर यथार्थमा चल्ने उहाँले बताउनुभयाे । फिल्ममा देखाएअनुसार राजनीति र राज्य यति हदसम्म नजाने समेत अध्यक्ष ओलीले बताउनुभयाे । राजनीतिमा सबैलाई एउटै डालाेमा राखेर हेर्न नमिल्ने समेत उहाँले बताउनुभयाे ।
गत शुक्रबारदेखि नेपालका विभिन्न हलमा प्रदर्शनमा आएको यो चलचित्रलाई दर्शकले मन पराएका छन् ।
