• Wednesday 7th of October 2026

साउदीले मिस युनिभर्समा भाग लिने कुरा हल्ला मात्रै !


  • धनकुटा खबर
  • .

काठमाडौं । भर्खरै साउदी अरेबियाले आधिकारिक रूपमा मिस युनिभर्स प्रतियोगितामा भाग लिन लागेको र रुमी अलकाहतानी इस्लामिक देशको पहिलो प्रतिनिधिको रूपमा सामेल हुने कुराहरू चर्चामा थिए। तर, मिस युनिभर्स अर्गनाइजेसनले यस वर्षको प्रतियोगितामा साउदीको सहभागिता अस्वीकार गरेको छ ।

मिस युनिभर्स अर्गनाइजेसनले आफ्नो विज्ञप्तिमा साउदी अरेबियाले यस वर्षको मिस युनिभर्स प्रतियोगितामा आफ्नो सहभागिताको औपचारिक पुष्टि नगरेको बताउँदै साउदी तर्फबाट यसबारे जानकारी नआएसम्म यस प्रतियोगितामा साउदी अरेबियालाई प्रवेश दिन नसक्ने स्पष्ट पारेको छ ।

२७ वर्षीय मोडल रुमी अल्काहतानीले आफ्नो इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै मिस युनिभर्स प्रतियोगितामा देशबाट पहिलो सहभागी हुने दाबी गरेकी थिइन् । रुमीले इन्स्टाग्राममा लेखेकी छन्, “मिस युनिभर्स प्रतियोगितामा साउदी अरेबियाको यो पहिलो सहभागिता हो।”

साउदी अरेबियाको राजधानी रियाद निवासी अलकाहतानी केही साताअघि मलेसियामा सम्पन्न मिस एण्ड मिसेस ग्लोबल एसियनमा पनि सहभागी भएकी थिइन् ।

मिस साउदी अरेबियाको उपाधि बाहेक रुमी अल्काहतानीसँग मिस मिडल इस्ट, मिस अरब वर्ल्ड पीस २०२१ र मिस वुमन (साउदी अरेबिया) को उपाधि पनि छ। हाल मिस युनिभर्सको उपाधि मिस निकारागुआ शान्निस पालासियोसको हातमा छ, उनले गत वर्ष यो उपाधि जितेकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖