• Tuesday 6th of October 2026

पाठेघरको मुखमा हुने क्यान्सर : यसको प्रमुख कारण र देखिन सकिने लक्षण


  • धनकुटा खबर
  • .

पाठेघरको मुखमा भएका कोषहरुको असामान्य ढङ्गले वृद्धि हुनु नै पाठेघरको मुखको क्यान्सर हुनु हो ।

पाठेघरको मुखको क्यान्सर जुनसुकै उमेरका महिलालाई पनि लाग्न सक्छ । तर, यो रोग ३० देखि ६५ वर्ष उमेरका महिलामा धेरै हुने गरेको पाइएको छ । कम उमेरमै पहिलो यौनसम्पर्क राख्दा, धेरै जनासँग असुरक्षित यौनसम्पर्क राख्दा, धेरै बच्चा जन्माउने, यौन व्यवसायमा लागेका, बहुबिवाह गर्नेहरु र बालविवाह गर्नेमा पाठेघरको मुखको क्यान्सर हुने बढी मात्रामा पाइएको छ ।

साथै, चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन, ह्युमन पापिलोमा नाकम भाइरस वा अन्य यौन सङ्क्रमण भएमा, सरसफाइमा ध्यान नदिएमा पनि पाठेघरको मुखको क्यान्सर हुने जोखिम धेरै हुन्छ । तल्लो पेट दुख्नु, अल्छी हुनु वा धेरै थकाइ लाग्ने, तौल घट्ने, सेतो गन्हाउने पानी वा असामान्य तरल पदार्थ बग्ने, कहिलेकाहीँ सेतोपानीमा रगत मिसिएर आउने महिनावारी अघिपछि योनीबाट हुने रक्तस्राव, महिनावारी नभए पनि रगत देखिने, महिनावारी हुँदा धेरै दिनसम्म वा बढी मात्रामा रगत बग्नेजस्तो समस्या देखिन सक्छ ।

त्यस्तै, यौनसम्पर्कलगत्तै रक्तस्राव हुने, अत्यधिक रक्तस्रावका कारणले रक्तअल्पता, गम्भीर अवस्थामा तल्लो पेट दुख्ने, खुट्टा सुन्निने, दिसापिसाबमा रगत देखिने तथा महिनावारी बन्द भइसकेका महिलामा फेरि पनि रगत देखापरेमा पाठेघरमा रोग लागेको वा पाठेघरमा क्यान्सर भएको शङ्का गर्न सकिन्छ ।

यो रोगको प्रारम्भिक स्थितिमा कुनै लक्षण नदेखिन पनि सक्छ । र, दुख्न थाल्दा क्यान्सर फैलिसकेको हुनसक्छ । त्यसैले रोग नलागे पनि महिलाले आफ्नो पाठेघरको नियमित जाँच गराउनु पर्ने हुन्छ । प्रारम्भिक अवस्थामा पाठेघरको जाँच गरी समस्या पत्ता लगाएर समयमै उपचार गर्न सके यसबाट बच्न सकिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖