• Monday 19th of October 2026

बिहेका लागि भारतीय युवा नेपालमा


  • धनकुटा खबर
  • .

झापा । पछिल्लो समय भारतको पिथौरागढ जिल्लाका बेरोजगार युवा आफ्नै देशमा दुलही पाउन कठिन भएपछि विवाहका लागि नेपाल आउन थालेका छन् ।

पिथौरागढका महेन्द्र सिंहले छोराको विवाहका लागि कैयौँ गाउँ घुमे पनि नोकरी नभएकाले कसैले छोरी दिन नमानेको बताउँदै भने, “बैतडीबाट छोराको विवाह गर्नुपर्‍यो ।” पिथौरागढकी विमला देवीले पनि बेरोजगार छोरालाई भारतमा कसैले दुलही दिन नमानेका कारण बैतडी र दार्चुला पुगेको सुनाए ।

पछिल्लो समय बेरोजगारीका कारण आफ्नै देशमा दुलही पाउन नसक्दा नेपाल आउने भारतीय युवाको सङ्ख्या बढेको भारतीय सञ्चारमाध्यमले पनि जनाएका छन् । नेपालको गरिबी र भारतीय युवाको बेरोजगारीले अन्तरदेशीय वैवाहिक सम्बन्ध बढ्न थालेको सञ्चारमाध्यमले विश्लेषण गरेका छन् । पिथौरागढका सञ्चारकर्मी सुरेन्द्र आर्यले भारतीय बेरोजगार युवाले आफ्नो देशमा दुलही पाउन कठिनाइ भएको विषय भारतीय अखबारमा समाचार बन्न थालेको बताए ।

उनले नेपाल–भारतबिच रोटीबेटीको पुरानो सम्बन्ध भए पनि केही वर्षयता यस्तो सम्बन्ध घटेकोमा कोरोनापछि पुनः नेपाल–भारतबिचका सीमान्तकृत गाउँमा विवाह बढेको बताए । कोरोना सङ्क्रमणले अर्थतन्त्रमा परेको प्रभावका कारण भारतमा अहिले दाइजो प्रथासमेत घटेको छ । छोरी दिए पुग्छ भन्ने अवस्था आए पनि दुलहाका लागि बेरोजगारी तगारो बन्ने गरेको छ ।

“विवाहका लागि वर सरकारी जागिरवाला हुनै पर्ने भएको छ,” सञ्चारकर्मी आर्यले भने, “भारतमा गैरसरकारी संस्था त्यति छैनन् । सरकारी कर्मचारीका लागि सीमित सिट सङ्ख्या हुन्छ । सेना, प्रहरी मात्र रोजगारीको विकल्प छ । उच्च शिक्षा हासिल गरेर पनि सबै युवाले सरकारी नोकरी पाउन सक्दैनन् । नोकरी नभए विवाह गर्न झन् कठिन बन्दै गएको छ ।”

नेपाल–भारतबिच हुने विवाहको अभिलेख दुवै देशका सुरक्षाकर्मीले राख्ने गरेका छन् । भारतीय सीमा सुरक्षा बलका झुलाघाट पुल इन्चार्ज अनुप मन्नाले नेपाली र भारतीयबिच पछिल्लो समय विवाह बढेको बताए ।शिक्षित र खान लगाउन पुग्ने सबै नेपालीले भारतीयलाई छोरी दिने गरेका छैनन् । आर्थिक रूपमा विपन्न परिवार मात्र विवाहका लागि तयार हुने गरेको दशरथचन्द नगरपालिका–८, झुलाघाटका जयसिंह भाटले बताए ।

उनले भने, “भारतमा खाद्यान्न सुपथ मूल्यमा पाइन्छ । शिक्षा, स्वास्थ्य सर्वसुलभ छ । युवा विदेश जाने चलन कम छ । त्यसैले छोरीको भविष्य राम्रो होला भनेर भारतीय बेरोजगारलाई पनि छोरी दिएर पठाउने चलन छ ।” पिथौरागढ ससुराली भएका शिक्षण पेसाबाट निवृत्त गोविन्दराज जोशीले नेपाली युवा सरकारी नोकरीवाला भए भारतको पिथौरागढबाट पनि छोरी दिन तयार हुने गरेको बताए ।

नेपाल–भारत सीमा नाका जोड्ने झुलाघाट पुल दिनभरि खुला हुने भए पनि राति बन्द हुने गरेको छ । विवाहका लागि भने जुनसुकै बेला पनि गेट खुल्ने गरेको छ । भारतमा भएको लोक सभा निर्वाचनका लागि ७२ घण्टाका लागि बन्द गरिएको गेट विवाहका लागि १० मिनेट खुला गरिएको थियो । यही वैशाख ५ गते भारतको बेरिनागबाट दुलहासहित बैतडीको दोगडाकेदारमा विवाह लिएर आएका छ जनाका लागि गेट खोलिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖