• Monday 19th of October 2026

यी युवतीको बारेमा सूचना दिनेलाई ५० हजार भारु पुरस्कार घोषणा, नेपालमा आएकी थिइन्


  • धनकुटा खबर
  • .

एजेन्सी । भारतको उत्तर प्रदेश राज्यको लखनउमा क्याफे सञ्चालक शिवा शर्माको मृत्युको विषय सुल्झाउन स्थानीय प्रहरीलाई एकपछि अर्को चुनौती थपिँदै गएको छ ।

मृतक शिवाको प्रेमिका भनिएकी मोडेल श्रद्धा दुवे आफ्नी बहिनी रश्मी र चालक तनवीर (दानिश)सहित फरार छिन् ।

घटना लगत्तै उनीहरू सुनौली बोर्डर हुँदै नेपाल प्रवेश गरेको भारतीय प्रहरीको भनाइ छ । यद्यपि उनीहरू अहिले नेपालबाट भारततिरै फर्किसकेको बताइएको छ ।

नेपालबाट फर्किएपछि उनीहरू लखनउ उच्च अदालतमा पुगेको र त्यहाँबाट फेरि फरार भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यति हुँदासमेत प्रहरीले उनीहरूको बारेमा सुइँको पाउन नसकेको भन्दै प्रहरीको आलोचना भइरहेको छ ।

श्रद्धा केही समयका लागि उच्च अदालत लखनउमा आएको र अदालत परिसरमै आफ्नो कानुन व्यवसायीसँग भेट गरेर केही दस्तावेजमा हस्ताक्षर गरेर ‘एक्सप्रेस वे’ हुँदै आगरा र त्यहाँबाट सहारनपुर पुगेको जनाइएको छ ।

आरोपितहरूलाई पक्राउ गर्न असफल रहेको भन्दै विक्रान्त वीर नाम गरेका डीसीपीलाई मुख्यालयमा तानिएको छ भने हजरतगंजका इन्स्पेक्टर विक्रम सिंहलाई समेत त्यहाँबाट हटाइएको छ । यद्यपि सिंहलाई आरोपितहरूको खोजीमा परिचालन गरिएको टिममा भने सामेल गरिएको छ ।

यसअघि श्रद्धाका बारेमा सूचना दिने व्यक्तिलाई उत्तर प्रदेश प्रहरीले २५ हजार भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो । उनीहरूलाई पक्राउ गर्न एकपछि अर्को असफलता हात लाग्न थालेपछि पुरस्कार रकम बढाएर ५० हजार भारतीय रुपैयाँ पुर्‍याइएको छ ।

आइतबार साँझ श्रद्धाले एक समाचार एजेन्सीसँग कुरा गरेको भिडियो सार्वजनिक भएको छ, जसमा उनले आफू निर्दोष रहेको बताएकी छन् ।

उनले शिवाको हत्या नभएको दाबी गर्दै शिवाको मृत्युलाई ‘आत्महत्या’ भनेकी छन् ।

श्रद्धाकै घरको चौथो तलाबाट खसेर शिवाको मृत्यु भएको थियो । शिवाकी आमाले प्रहरीमा श्रद्धासहित तीन जनाविरुद्ध जाहेरी दिएकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖