• Tuesday 20th of October 2026

मोबाइल खोसेपछि बा-आमा र बहिनीको गोली हानेर हत्या


  • धनकुटा खबर
  • .

साओ पाउलो । पछिल्लो समय बच्चादेखि बूढाबूढीसम्म सबै जनालाई मोबाइलको लत लागेको छ । मोबाइल एक क्षण चलाउन नपाउँदा छट्पटाहट हुने स्थिति छ ।

यसकै लतका कारण ठूल्ठूला दुर्घटना पनि भएका छन् । ब्राजिलमा पनि मोबाइलको लतका कारण एक किशोरले आफ्नै बा-आमा र बहिनीको हत्या गरेका छन् ।

यो घटना साओ पाउलोमा घटेको हो । घटनाका जाँच प्रमुख रोबर्टो अफोन्सोका अनुसार एकजना नगर प्रहरी र उनकी पत्नीले बालकलाई धर्मपुत्रको रूपमा पालेका थिए ।

किशोरसँग बहसपछि बा-आमाले उनको हातमा भएको मोबाइल खोसिदिए । मोबाइल खोसेपछि रिसाएका किशोरले पिताको सर्भिस पेस्तोल उठाएर उनकाे ढाडमा गोली हाने ।

माथिल्लो तलामा बसिरहेकी बहिनीलाई पनि अनुहारमै गोली हाने । घटनाको समयमा किशोरकी आमा घरमा थिइनन् ।

केही घन्टामा उनी घर फर्किइन् । तर किशोरले उनको पनि गोली हानेर हत्या गरिदिए । यो घटना शुक्रबारको हो ।

सोमबारसम्म किशोर माता पिता र बहिनीको शवको साथमा घरमै बसे । यसबिच ती किशोर जिम र बेकरी पनि गएको बताइएको छ ।

सोमबार किशोरले आफैँले प्रहरीलाई घटनाबारे जानकारी दिए र आफ्नो अपराध पनि स्वीकारे । उनलाई प्रहरीले हिरासतमा राखेको छ ।

नाबालिग भएकोले किशोरमाथि मुद्दा चलाइएको छैन । प्रहरीले यस घटनाको गम्भीर रूपमा छानबिन गरिरहेको छ ।

यो घटनामा किशोरबाहेक अरू कोही पनि संलग्न छन् कि भनेर छानबिन भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖