• Tuesday 20th of October 2026

मदनकृष्ण र हरीबंशलाई खुलापत्र: तपाइहरुले माफी माग्नुभयो र सोझासाझा नेपालीले तपाइहरुलाई माफी दिए होलान् तर मैले माफी दिएको छैन


  • धनकुटा खबर
  • .

आदणिय मदनकृष्ण श्रेष्ठ र हरीबंश आचार्य ज्यू, नमस्कार । अहिले तपाइँहरु चलचित्रको प्रचार प्रसारको लागि विदेशमा हुनुहुन्छ । मदनकृष्ण दाई तपाइँको सानो अभिव्यक्तिले गर्दा तपाइँहरुको टिम अहिले तनावमा छ भन्ने मलाई लागेको छ । सुन्दै छु अष्टे«लियामा भएका नेपालीहरुले तपाइँहरुको कार्यक्रम बहिस्कार गर्दैछन् । तपाइँहरुले माफी मागी सक्नु भएकोले तपाईहरुले कार्यक्रम सफल पारेर फर्कनु हुनेछ भन्ने आशा लिएको छु ।

तपाइँहरुले माफी माग्नु भयो र सोझा साझा नेपालीले तपाइँहरुलाई माफी दिए होलान् तर मैले माफी दिएको छैन । तपाइँहरुले सोच्नु होला यो नाथे अंग राज को हो ? हामीलाई माफी नदीने र एक जना नाथेले माफी नदिदैमा हामीलाई के हुन्छ र ? हो दाईहरु म एक जना नाथे नै हो । तपाइँहरुका नजरमा तर मैले उठाएको विषयले सही निकासको बाटो पाई भोलि छानबिन समिती बनेमा तपाइँहरुले मलाई नाथे सम्झीनु हुने छैन । त्यो समय अलि पछि आउला । समयको प्रतिक्षा गर्नु नै तपाइँ र मेरो बाध्यता हुनेछ ।

जसरी तपाइँहरुले अहिले माफी माग्नु भयो त्यसरी नै भोलि फेरी आम बचत कर्तासँग माफी माग्नु पर्ने अवस्था आउन सक्छ । यदि त्यस्तो समय आएमा अनि मात्र तपाइँहरुले म नाथेलाई धेरै नै सम्झीनु हुनेछ । कसरी त ? अब म मुख्य विषयमा प्रवेश गर्दैछु ।

तपाइँहरु सानिमा बैंकको स्थापना कालदेखि नै प्रचार प्रसार दूतमा नियुक्ती हुनु भएको छ । यो एउटा नितान्त तपाइँहरुको व्यवसायिक काम हो । किन सानिमा बैंकले तपाइँहरुलाई नै यति लामो समयसम्म दूत बनाई रहेको होला ? पक्कै पनि तपाइँहरुको ख्यातीको कारणले नै यति लामो समयसम्म तपाइँहरु दूत भएर बैंकलाई सहयोग गरीरहनु भएको छ र तपाइँहरुको श्रमको मूल्य बैंकले दिई रहेको छ ।

दाईहरु पैसा नै सबै थोक होइन । जिवनको यति लामो समयसम्म आई पुग्दा तपाइँहरुले यो कुरा बुझी सक्नु भएको छ । यसमा मैले तपाइँहरुलाई सम्झाई रहनु पर्दैन होला । तपाइँहरुले बैंकबाट वार्षिक रुपमा केहि करोड पैसा पाउनु हुन्छ होला तर बैंकले भोलिका दिनमा बचत कर्ताहरुको करोड होइन खरब पैसा तलमाथि गरेमा त्यसको थोरै श्रेय तपाइँहरुमा पनि आउनेछ ।

तपाइँहरुको अनुहार हेरेर नै बचत कर्ताहरुले सानिमा बैंकमा बचत गरीरहेका छन् । मदनकृष्ण र हरीबंंशले पत्याएको बैंक भएकोले सानिमा बैंक राम्रो होला भन्ने आम बचत कर्ताको बुझाई रहेकोले नै बचत कर्ताहरुले बैंकमा बचत गरेका छन् । यस्को अर्थ अरु बैंकमा जनताको विश्वास नएकोले बचत गर्दैनन् भन्ने होईन । तुलनात्मक रुपमा सानिमामा बचत धेरै हुनसक्छ नभए किन सानिमा बैंकले तपाइँहरुमा करोडौं पैसा खर्च गरीरहेको छ त ?

मैले विगत लामो समय देखि विभिन्न बैंकहरुसँग वित्तिय सूचनाहरु माग गर्दै आएको छु । राष्ट्रिय सूचना आयोगको आदेशपछि प्राप्त वित्तिय सूचनाहरुलाई अध्ययन गर्ने क्रममा सानिमा बैंकले करीव २ अर्व रुपैयाँ अपचलन गरेको छ । सो अपचलन गरेको रुपैयाँको जानकारी मैले तपाइँहरुलाई दिएको छु । फोन बाट कुरा गरी केश के हो ? मैले बुझाउन तपाइँहरुले भनेको ठाउँमा आएर बुझाउन पनि तयार छु भनेर भनेको पनि थिएँ । तर तपाइँहरुले मेरो कुरामा खासै ध्यान दिनु भएको छैन । मदनकृष्ण दाई तपाइँसँगको कुराकानीमा सानिमा बैंककै भाषा तपाइँले पनि बोल्नु भएको थियो । यदि बैंकले गल्ती गरेको भए राष्ट्र बैंकले सानिमा बैंकलाई कारवाहि गरी हाल्थ्यो नि । हो दाई सानिमा बैंकले पनि यहि भाषा बोल्ने गरेको छ । हो गल्ती गरेको भए राष्ट्र बैंकले कारवाहि गर्नु पर्ने हो ।

तर दाई राष्ट्र बैंका कर्मचारीहरु दूधले धोएका व्यक्ति होइनन् र राष्ट्र बैंकका कर्मचारीहरु नेपाली समाजमा बाँचेका मानिहरु हुन् । म जति गहिराईमा गएर अध्ययन गरेको छु त्यति गहिराईमा गएर अध्ययन गरेको भए पक्कै पनि गल्ती थाहा पाउथे तर गहिराईमा जाने फुर्सद राष्ट्र बैकका गभर्नर र कर्मचारीमा समय नै छदै छैन । समय यो अर्थमा पनि निकाल्दैनन् कि भोलि राष्ट्र बैंकको जागीर सकिए पछि समय विताउने स्थान बैंकहरु हुन । राष्ट्र बैंकका कर्मचारीका आफन्तहरु बैंकभरी जागीरे छन् नि त्यही भएर समय निकालेर अध्ययन गर्ने चासो र फुर्सद छैन । दाई यसले यस्तो हावा कुरा गर्यो भन्नु होला । मैले हावा कुरा गरेकै छैन । राष्ट्र बैंकको जागीर पछि बैंकहरुमा जागीर खाएका धेरै व्यक्तिहरुलाई भेटेको छु । नपत्याए तपाइँहरुकै क्षेत्रमा हुनु भएका शिवहरी पौडेलसँग यस्को बारेमा केहि बुझ्न सक्नु हुन्छ ।

मैले तपाइँहरुलाई २ अर्व बैंकले गरेको अपचलनर र ३४ करोड अधिकार प्राप्त व्यक्तिले सिष्टमबाट पैसा गायब बनाएको समाचार लेखेर त्यस्को लिंक पनि पठाई दिएको थिएँ तर तपाइँहरुले वास्ता नै गर्नु भएको छैन ।
मेलै जानेको र मेरो अध्ययनले देखाएको विषयलाई तपाइँहरु सामु राखेर बैंकलाई सुध्रिन तपाइँहरुले दबाब दीनु हुनेछ भन्ने अपेक्षा गरेको थिएँ । पैसामा तलमाथि गर्ने बानी बसेकाले भोलि बैंक डुबाएमा तपाइँहरुको अनुहार हेरेर बचत गरेका बचत कर्तासँग तपाइँहरु माफी माग्ने कि नमाग्ने ? धन्वाद । देशको जय होस् ।

अंग राज भारती
जुम्ला, हाल गोकर्ण, काठमाण्डौं ।
ईमेलः angaraj11@gmail.com

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖