बागलुङ। बागलुङमा ७० वर्षीया वृद्ध महिलाको घाँटीबाट सुनको सिक्री चोरी गरी भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार कात्तिक २ गते दिउँसो १ बजेर ९ मिनेटमा बागलुङ नगरपालिका–२, हल्लनचोकमा जीवन पुनकी आमा ७० वर्षीया कृष्णमाया पुनले घाँटीमा लगाएको सुनको सिक्री चोरी भएको थियो।
चोरी भएको २.७८ तोला तौलको उक्त सिक्रीको मूल्य ८ लाख ६ हजार २०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२० निवासी १९ वर्षीय रविन कुमार यादव र १८ वर्षीय प्रकाश राय यादवलाई पक्राउ गरेको हो। उनीहरूलाई बागलुङ नगरपालिका–२, हल्लनचोकमा फेला पारी खानतलासी गर्दा चोरी भएको सुनको सिक्री बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि बागलुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिएका छन्।
