• Thursday 8th of October 2026

यसकारण गरियो बद्री पंगेनीसहित १० जनाले गाएको लोकदोहोरी गीत ‘बसे है पालेदाइ’ हटाउन माग


  • धनकुटा खबर
  • .

काठमाडौं । बद्री पंगेनी, चोलेन्द्र पौडेल, माया गुरुङ लगायत गायक-गायिकाको स्वर रहेको लोकदोहोरी गीत ‘बसे है पालेदाइ’ विवादित बनेको छ । गीतमा स्कुललाई मायाप्रेम गर्ने थलोको रुपमा चित्रित गरिएको भन्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाका शिक्षक संघ-संगठनहरुले प्रतिबन्ध लगाउन माग गरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ र एकीकृत अखिल नेपाल शिक्षक संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै गीतलाई युट्युब लगायतका प्लाटफर्मबाट हटाउन माग गरेका छन् ।

‘विद्यालय जस्तो ज्ञानको मन्दिरलाई मायाप्रेम गर्ने थलोका रुपमा चित्रण गर्दै नेपाली राष्ट्रिय गानको अपमान गरी राष्ट्रिय गान गाएको अवस्थामा गरिएका विभिन्न हर्कत खेदजनक छन् । शिक्षकहरुलाई अपमानित हुने गरी राखिएका टुक्का, विद्यालयमा गरिएको छायांकन, विद्यालय कर्मचारीप्रति काम नगरी जागिर खाने र कार्यालयभित्र शिक्षकलाई अमर्यादित सोच राख्ने मान्छैको रुपमा चित्रण साथै विद्यार्थीले विभिन्न भाषामा अभिवादन गर्दा शिक्षकले भौतिक सजाय दिएको जस्ता अपाच्य दृश्यले विद्यालय शिक्षाप्रति नै नकारात्मक भाव प्रकट गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

विद्यार्थीहरुले स्कुलभित्रै शिक्षकमाथि अनादर गरेका दृश्यले विद्यार्थीको मानसिकतामा नकारात्मक प्रभाव पार्ने कुरामा समेत उक्त गीतले कुनै ख्याल नगरेको शिक्षक संगठनहरुको भनाइ छ ।

उनीहरुले आफ्नो मागलाई बेवास्ता गरेमा गीतलाई बहिष्कार गर्दै गीतसँग सम्बन्धित कलाकारहरुलाई सामूहिक बहिष्कार गर्ने समेत चेतावनी दिएका छन् ।

तीन दिनअघि सार्वजनिक भएको ‘बसे है पालेदाइ’ मा बालकृष्ण श्रेष्ठको शब्द तथा स्वर्गीय जयनन्द लामाको संगी छ । गीतमा बद्री पंगेनी, चोलेन्द्र पौडेल, माया गुरुङ, सुमन परियार, रवि कार्की, श्याम राना, बालकुमार श्रेष्ठ, सुमित्रा कोइराला, अस्मिता डल्लाकोटी र बालिका तामाङको स्वर छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖