• Thursday 8th of October 2026

सात राज्यको १३ विधानसभा सिटमा भएको उपचुनावमा इन्डिया गठबन्धनले मार्‍यो बाजी, भाजपा दुई सिटमा सीमित


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । भारतका सात राज्यको १३ विधानसभा सिटका लागि जुलाई १० मा भएको उपचुनावको नतिजा आएको छ । इन्डिया गठबन्धनले १० सिट जितेको छ भने भाजपा नेतृत्वको एनडीएले मात्र दुई सिट जितेको छ । योसँगै एक सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

भारतीय गठबन्धनमा कांग्रेसले चार सिटमा जितको झन्डा फहराएको छ भने तृणमूल कांग्रेसले चार सिट, डीएमके र आम आदमी पार्टीले एक(एक सिट जितेको छ । यी उपचुनावमा हिमाचल प्रदेशको देहरा सिटबाट प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खुकी पत्नी कांग्रेस उम्मेदवार कमलेश ठाकुर विजयी भएकी छन् । कमलेशले भाजपाका होशियार सिंहलाई ३२ हजारभन्दा बढी मतले पराजित गरेकी छन् ।

तर सक्खुलाई उनको गृह जिल्ला हमीरपुरमा भाजपाले स्तब्ध बनाएको छ। यस सिटमा भाजपाका आशिष कुमार शर्माले करिब १५०० मतले विजयी भएका छन् । यता हिमाचलको नालागढ विधानसभा सिटबाट कांग्रेसका हरदीप सिंह बाबा विजयी भएका छन् । सन् २०२२ मा भएको विधानसभा चुनावमा हिमाचलका यी तीन सिटमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका थिए । उनले राजीनामा दिएपछि यी सिट खाली भएका हुन् ।

यस वर्ष फेब्रुअरी महिनामा यी तीनै विधायकहरूले राज्यसभा चुनावमा भाजपाको पक्षमा मतदान गरेका थिए। यस पटक तीनै उम्मेदवारहरू भाजपाको टिकटमा चुनाव लडेका थिए। योसँगै बीजेपी शासित मध्य प्रदेशको छिन्दवाडाको अमरवाडा विधानसभा उपचुनावमा भाजपा उम्मेदवार कमलेश प्रताप शाह विजयी भएका छन्। उनले ३२५२ मतले चुनाव जितेका छन् ।

पश्चिम बंगालका चारै सिट तृणमूल कांग्रेसले जितेको छ भने बिहारको रुपौली सिट स्वतन्त्र उम्मेदवार शंकर सिंहको हातमा पुगेको छ । तमिलनाडुको विक्रवन्दी सिटमा डीएमकेका अन्नियुर सिवा १ लाख २४ हजार मतले विजयी भएका छन् ।

नतिजा आएपछि कांग्रेसले सामाजिक सञ्जालमा यसप्रति खुसी व्यक्त गर्दै इन्डिया गठबन्धनले अधिकांश सिट जितेको उल्लेख गरेको छ । रुपौली सिटको विषयमा कांग्रेस नेता पवन खेडाले भने, ‘त्यहाँ न त हामीले जित्यौँ, न त उनीहरूले नै जिते, त्यहाँ अरू कोहीले जिते ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖