• Wednesday 28th of October 2026

शंकर पोखरेलको त्यो फोन, जसले मुखैमा आएको लिला गिरीको मुख्यमन्त्री पद खोसियो


  • धनकुटा खबर
  • .

काठमाडौं,७ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य बन्ने भएका छन् । यसअघि आर्थिक मामिलामन्त्री रहेका आचार्यलाई पार्टीले निर्णय गरेर मुख्यमन्त्री बनाउन लागेको हो ।

यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भएपनि अचानक पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो।

यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका आचार्य जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए। आचार्य लीला गिरी नेतृत्वको सरकारमा ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री थिए।

अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ को क बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य छन्।

आचार्य पार्टी महासचिव शंकर पोखरेल निकट हुन भने संसदीय दलका नेता रहेका गिरी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल निकट हुन् । गिरीलाई रोक्न आचार्य केही दिनदेखि काठमाडौंमा धाईरहेका थिए । एमाले र कांग्रेसबीच नयाँ सत्ता गठबन्धन बनाउन भूमिका खेलेका पोखरेलले अन्तत आफ्नो गृह प्रदेशमा आफू निकटकै व्यक्तिलाई मुख्यमन्त्री बनाउन सफल भएका छन् ।

यसअघि गिरी मुख्यमन्त्री थिए । तर, केन्द्रमा गठबन्धन फेरिएसँगै उनले राजीनामा दिएका थिए । कांग्रेससँगको भागवण्डामा लुम्बिनीको नेतृत्व एमालेको भागमा परेको छ ।

दुई दल मिल्दा प्रदेशमा अत्यधिक बहुमत हुन्छ । आचार्यले आजै मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् । यसअघि आइतबार माओवादीका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएका थिए ।

लुम्बिनी एमालेमा जिल्ला र प्रदेश अधिवेशनका क्रममा पनि चर्को विवाद देखिएको थियो । केन्द्रमा अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने दुवै नेता प्रदेशमा भने आफू अनुकुलको गुटगत राजनीति गर्दै आएका छन् ।

कसरी पल्टियो पासा ?

आइतबार महराले राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो १ बजेसम्मको समय दिएर संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमतीय सरकार गठनको आह्वान गरेका थिए । प्रदेश प्रमुखबाट आह्वान भएपछि नेपाली कांग्रेस र नेकपा एमाले मिलेर आज नयाँ सरकारमा दाबी पेश गर्ने तयारी गरेका थिए ।

एमालेका प्रमुख सचेतक तुलसी चौधरीले लीला गिरीलाई मुख्यमन्त्रीका लागि दाबी पेश गर्न पत्र तयार गर्दै थिए। तर अचानक एमाले महासचिव शंकर पोखरेलको एक फोनले लीला गिरीको नाममा टिपेक्स लागेको छ।

सोमबार बिहान महासचिव पोखरेलले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेललाई फोन गरेर आचार्यलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएका थिए । कँडेल उपाध्यक्ष पौडेलनिकट हुन् । तर, उनले पनि महासचिवको निर्देशन अवज्ञा गर्न सकेनन् । पोखरेलसँगै आचार्यलाई मुख्यमन्त्री बनाउन बालकोटले पनि ग्रिन सिग्नल दिएको स्रोतको दाबी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖